विराटनगर । पारो नामक तत्त्व पाइने भएकाले पशु सेवा विभागले राेक लगाएकाे ‘मागुर’ प्रजातिको माछा आयात गर्न पाउनु पर्ने व्यापारीहरू माग गरेका छन् ।

भारत सरकारले सन् २००० यता मागुर प्रजातिको माछा पालन तथा बिक्रीबितरणमा प्रतिबन्ध लगाएकाे छ । तर, नेपालमा भने भारतबाटै खुलेअाम आयात हुँदै आएको छ । भारतमा पनि सबैभन्दा पहिला केरेला राज्यले प्रतिबन्ध लगाएपछि भारत सरकारले सन् २००० देखि पूर्णरूपमा बिक्री तथा पालनमा रोक लगाएको हो । भारतबाट आउने त्यस्ता प्रजातिमा पारो नामक तत्त्व विद्यमान रहेकाले मागुर माछा खान योग्य नमानिने जानकार बताउँछन् ।

तर, विराटनगरका व्यापारीहरूले भने मागुर प्रजातिको माछा आयात गर्न दिनुपर्ने जोडदार माग उठाउँदै आइरहेका छन् । यता सर्वोच्च अदालतले पनि स्वास्थ्यलाई मध्यनजर गर्दै आदेश दिनुपर्नेमा व्यापारीको पक्षमा अल्पकालीन अन्तरिम आदेश दिएपछि व्यापारी जनदबाव बनाउन प्रयासरत छन् । पशु सेवा विभागले गरेको निर्णय कार्यान्वयन नगर्नू, नगराउनू भन्ने सर्वोच्चको आदेशपछि व्यापारी थप मागुर माछा भित्र्याउन पाउनुपर्ने मागलाई यथावत राखेका हुन् ।

माछा व्यापारीले विराटनगरका पत्रकार सम्मेलन गर्दै आयातका लागि जोडदार माग उठाएका छन् । पशु सेवा विभागले गत भदौ १२ गते भारतबाट आयात हुने मागुर माछालाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । मानव स्वास्थ्य प्रतिकूल भएकाले विभागले रोक लगाएको हो । विराटनगरमा थोक माछा व्यापारीले यो निर्णयलाई ‘गैरकानूनी’ मान्दै आएका छन् ।

विभागको निर्णयविरुद्ध उनीहरू सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलाशले असोज २८ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि व्यापारीलाई सहज भएको हो । सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ को उपनियम (२) को देहाय (ख) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ । त्यसो त अदालतले कात्तिक २० गते पक्ष र विपक्ष दुवैलाई छलफलका लागि अदालत बोलाएको छ । वैधानिक रूपमा प्रत्येक वर्ष प्रदेश १ को भन्सार नाकाबाट ४ हजार टन मागुर जातको माछा भित्रिने गरेको थोक बिक्रेता एहसान सेखले बताए ।

अवैधानिक रूपमा के कति भित्रिन्छ भन्ने कुनै तथ्याङ्क छैन । सुनसरी प्रहरीले गएको साउनमा झण्डै ७५ सय केजी मागुर प्रजातिको माछा ट्रकमा लोड भएको अवस्थामा पक्राउ गरेको थियो । उक्त माछाको भन्सार भने थोरैको काटेर धेरै माछा भित्र्याएको तथ्य त्यो बेला पनि सार्वजनिक भएको थियो । जुन माछा स्वास्थ्यका लागि एकदमै प्रतिकूल मानिने त्यो बेला प्रहरी अधिकारीले बताएका थिए ।