इटहरी । कोरोनाले विश्व आक्रान्त बनिरहेको बेला इटहरीमा भने कोरोना सँग लड्न सक्ने क्षमता भएको जटिबुटी भन्दै गुर्जोको व्यापार बढेको छ । अहिले इटहरीको चारकोशे झाडीमा पाइने गुर्जो खोजेर गुजारा गर्नेहरूको संख्या समेत बढेको छ ।

मानिसले आयुर्वेद र रोगप्रतिरोधात्मक क्षमता बढाउने जडिबुटी र घरेलु उपायप्रति चाख राखिरहेका छन् । गुर्जो खोज्दै हिँड्ने जमातहरू पनि छन् भने सहरमा गुर्जोलाई आकर्षक वस्तु जस्तै फिजाएर पसलमा व्यापार गर्नेहरू पनि बढेका छन् । हिजोसम्म नामै नसुनिएको गुर्जो अहिले इटहरी बजारमा व्यापार हुन थालेको छ ।

इटहरी–२० का दिलबहादुर कटुवाल र उनकी श्रीमती निर्मला कटुवाल गुर्जोको व्यापार गर्दै आएका छन् । धरान–इटहरी सडक खण्डमा पर्ने पानीपिया क्षेत्रमा गुर्जो खोजेर व्यापार गर्न थालेका हुन् । जङ्गलबाट खोजेर पानीपिया क्षेत्रमा नै उनीहरूले बिक्री गर्न थालेका छन् । गुर्जोको व्यापार गरेर उनीहरूले राम्रो आम्दानी समेत गरिरहेका छन् ।

कटुवाल दम्पतीले दैनिक १५ सयदेखि २ हजारसम्मको गुर्जो बेच्ने गरेको बताउँछन् । गुर्जो किन्ने ग्राहकहरूको भीड लाग्ने गरेको दिलबहादुर बताउँछन् । उनी भन्छन्, ‘अहिले यो व्यापारमा हामी सन्तुष्ट छौ । अहिले जंगलबाट ल्याएको गुर्जो तरकारी बिके जसरी नै व्यापार बढेको छ ।’

अहिलेको कोरोनाविरुद्ध लड्न आयुर्वेदमा धेरै प्रोटोकलहरू बनाएका छन् । अहिले इटहरी–२० तरहरा क्षेत्रका केही सर्वसाधरणहरूले गुर्जो खोजेर बिक्री वितरण गरिरहेको वडाध्यक्ष मणिराम श्रेष्ठ बताउँछन् । तरहरासँगै जोडिएको चारकोशे झाडीबाट संकलन गरेर गुर्जो हाटबजारमा बिक्री गर्ने गरेको वडाध्यक्ष श्रेष्ठ बताउँछन् ।

कोभिड १९ सँग जुध्न गुर्जो कति प्रभावकारी छ भन्ने विषयमा कुनै अनुसन्धान नभए पनि गुर्जोको व्यापार ह्वात्तै बढेको छ । सहरमा बस्ने कतिपयले गाउँबाट मगाउन थालेका छन् भने कतिले किनेर गुर्जोको रस पिउन थालेका छन् । कुनै बेला गाउँघरतिर बस्तुभाउलाई दिइने गुर्जोको प्रयोगप्रति कोरोना भाइरसको महामारीपछि मानिसहरूको चासो बढ्न थालेको आयुर्वेद औषधिको व्यापार गर्दै आएका तरहराका जगतबहादुर भट्टराई बताउँछन् ।

गुर्जो ज्वरो आउँदा, जन्डिस हुँदा, हाडजोर्नी वा क्यान्सरको समस्या भएका बिरामीलाई खान दिइने उनको भनाइ छ । दक्षिण एसियाका भारत र श्रीलङ्कामा पाइने गुर्जो नेपालको पनि तराईदेखि हिमाली क्षेत्रसम्मै पाइने आयुर्वेदका चिकित्सकहरू बताउँछन् । रोगसँग लड्ने प्रतिरोध क्षमता बलियो बनाउने भएकोले गुर्जो खाँदा संक्रमणबाट जोगिन मद्दत पुग्ने चिकित्सकहरू बताउँछन् ।