झापा । झापा बिर्तामोड–४ को सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७६–०७७ मा सामाजिक उत्तरदायित्व अन्तर्गत १३ लाख २४ हजार ४०४ रुपैयाँ राहत तथा सहयोग गरेका छ ।

संस्थाको १० औ वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति पदस्थापना समारोहमा अध्यक्ष कमलबहादुर बस्नेतले प्रस्तुत गरेको प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ । संस्थाले कोरोना भाइरस महामारीले गर्दा न्यून शेयर सदस्य तथा अतिथिका बीच सरकारले तोकेका स्वास्थ्य मापदण्ड पूरा गर्दै शुक्रबार बिर्तामोडमा साधारणसभा तथा नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराएको हो । 

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरस विपद् राहत सहयोग स्थानीय तहमार्फत ८ लाख ३० हजार, पीसीआर मेसिन खरिदका लागि एक लाख, कोरोना संक्रमण नियन्त्रणका लागि ट्राफिक कार्यालय बिर्तामोडको गाडी मर्मतका लागि ५० हजार, नाट्यघर निर्माणका लागि ५१ हजार, तारा नमस्ते बालग्रामको व्यवस्थापन खर्चका लागि ५१ हजार रुयैयाँ दिएको जनाएको छ ।

त्यसै गरी अर्जुनधाराको भीम माविका विपन्न विद्यार्थीका लागि १ सय थान ब्याग र ५ थान पंखाका लागि ४४ हजार ७ सय, बिर्तामोडको मोहनमाया माविका विपन्न विद्यार्थीहरूलाई न्यानो कपडा स्वेटर एकसय थानका लागि २२ हजार ८ सय , बिर्तामोडकै शुक्रराज माविका विपन्न विद्यार्थीको लागि एक सय ८० थान ब्यागका लागि ५४ हजार २ सय ५० तथा अन्य सामाजिक कार्यमा १ लाख २० हजार ६ सय ५४ रुपैयाँ सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ ।

२५ हजार ७ सय ९३ जना शेयर सदस्य रहेको संस्थाले आर्थिक वर्ष २०७६–७७ असार मसान्तसम्ममा शेयर पूँजी १५ करोड २५ लाख २३ हजार ९ सय रुपैयाँ पुर्याएको छ । बचत संकलन ४ अर्ब २ करोड २७ लाख २२ हजार ५ सय १० रुपैयाँ गरेको छ भने बचत फिर्ता ३ अर्ब ४५ करोड ८१ लाख ५८ हजार ६ सय ६५ रुपैयाँ गरेको छ । संस्थाले ३ अर्ब ६४ करोड २९ लाख ८० हजार ७ सय ९४ रुपैयाँ कर्जा लगानी गरेको छ भने २ अर्ब ७१ करोड ४९ लाख ८७ हजार १ सय ३१ रुपैयाँ कर्जा असुली गरेको प्रतिवेदनमा छ । संस्थाले आव २०७६÷७७ मा खर्चतर्फ १३ करोड ९८ लाख ६६ हजार ५ सय गरेर  २ करोड ५५ लाख ५५ हजार ५ सय २० रुपैयाँ नाफा गर्न सफल भएको छ । 

संस्थाका सचिव सुभाष भट्टराईले सञ्चालन गरेको कार्यक्रममा जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बिर्तामोड नगर सहकारी निरीक्षक डिल्लीराम दाहाल, संस्थाका निर्वाचन समितिका सदस्य नरबहादुर बस्नेत, अमृत सहकारीका अध्यक्ष खेमप्रसाद ढकाललगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा संस्थाका नयाँ कार्य समितिलाई पदस्थापना तथा सपथ ग्रहण समेत गराइएको थियो ।