धरान । साहसिक पर्यटनमा पर्ने ‘स्काईवाक’ पूर्वको पर्यटकीय क्षेत्र भेडेटारमा निर्माण गरिने भएको छ ।

प्रदेश सरकार र भेडेटारसँग जोडिएका दुई वटा स्थानीय तहले प्रोजेक्ट अगाडि बढाउनका लागि समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् । बिहीबार प्रदेश १ को लगानी प्राधिकरण, धरान उपमहानगरपालिका र धनकुटाको साँगुरीगढी गाउँपालिकाका अधिकारीहरूले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यो विश्वकै नयाँ साहसिक पर्यटन अन्तर्गत पर्दछ ।

भेडेटारको चाल्र्स भ्यूटावरको उत्तरतर्फको जमिन र धरानको दक्षिणतर्फको जमिनभित्र ‘स्काईवाक’ बनाइने गरी समझदारी भएको छ । त्यो जमिन क्षेत्रभित्र निर्माण गर्नका लागि मोरङको वोन्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्राक्सन प्रालि बूढीगंगासँग सम्झौता भएको छ ।

प्रदेश सरकारले यसलाई ‘भेडेटार स्काईवाक परियोजना’ नाम दिएको छ । बिहीबर मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षर अनुसार पहिलो पक्ष धनकुटाको साँगुरीगढी गाउँपालिका, दोस्रो पक्ष धरान उपमहानगरपालिका र तेस्रो पक्ष प्रदेश लगानी प्राधिकरण रहेका छन् ।

यसलाई दक्षिण एसियाकै पहिलो साहसिक पर्यटकीय परियोजनाको रूपमा दाबी गरिएको छ । गुगल खोजी गर्दा ‘स्काईवाक’ को विस्तृत जानकारी समेत आउँदैन । यो कहाँबाट कसरी सुरु भयो भन्ने सम्मको सूचना रहेको पाइँदैन । गुगलमा पनि स्काईवाक सम्बन्धी सामान्य सूचनामात्रै प्राप्त गर्न सकिन्छ । यो आधारमा प्रदेश लगानी प्राधिकरणको दाबी केही हदसम्म प्रमाणित हुन्छ ।

परियोजना अगाडि बढाउनका लागि वातावरणीय प्रभाव मूल्यांकन (आईईई), नक्सालगायतको काममा प्रदेश लगानी प्राधिकरणले सहयोग गर्ने समझदारी पत्रमा उल्लेख छ । अबको २२ दिनभित्र तीनै पक्षले लिजको समय अवधि, निर्माण तथा सञ्चालनको ढाँचालगायतमा सहमति गरिने भएको छ ।

हस्ताक्षर गर्नेमध्येका धरान उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत विदुर खनालले प्रोजेक्ट अगाडि बढाउने भन्ने विषयमा हस्ताक्षर भएको जानकारी दिए । उनले भने, ‘कति लम्बाइको बन्ने, धरानको कति जग्गा प्रयोजनमा आउँछ भन्ने विषयमा २२ दिनभित्र टुंगो लगाउने भन्नेछ ।’

skywalk_dharan

photo source: google

समझदारी पत्रमा प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइराला, धरान उपमहानगरका मेयर तिलक राई, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष कुमारजङ्ग याक्खा, धरानका प्रमुख प्रशासकीय अधिकृत विदुर खनाल, साँगुरीगढीका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद भण्डारीले हस्ताक्षर गरेका छन् ।

पर्यटन व्यवसायीले यसलाई ‘प्रदेशका लागि गतिलो उपलब्धि’ मानेका छन् । ‘खुसीको कुरा हो, दक्षिण एसियाकै पहिलो भनिएको छ, भेडेटारमा साहसिक पर्यटनमा लार्ज स्केलमा लगानी भित्रिएको छ,’ होटल एसोसिएसनका पूर्वअध्यक्ष जितेन्द्र राईले भने, ‘नयाँ गन्तब्य बन्छ भन्ने आशा पलाएको छ ।’

भेडेटारमा बर्सेनि करिब १६ लाख पर्यटक भित्रिने गरेका छन् । जसमा ४० प्रतिशत छिमेकी मुलुक भारतबाट आउने गरेका छन् । तेस्रो मुलुकबाट भने भेडेटारमा न्यून संख्यामा मात्रै आइपुग्ने गरेका छन् ।