इनरुवा/ दशैं मनाउन घर फर्कनेका लागि इनरुवा नगरपालिकाको कार्यालयले स्वास्थ्य मापदण्ड अनिवार्य गर्ने भएको छ ।
चाड मनाउन घर फर्कंदा त्यसले परिवार र समुदायमा सङ्क्रमणको सम्भावित जोखिम बढाउने हुँदा स्वास्थ्य मापदण्ड अनिवार्य लागू गर्न लागिएको इनरुवा नगरपालिकाको कार्यालयले जनाएको छ ।
नगरपालिकाले दिएको जानकारीअनुसार दशैं मनाउन घर फर्कनेको वडागत रूपमा विवरण सङ्कलन गरिनेछ । को कहाँ र कहिले आएको भन्ने बारे सम्बन्धित वडा कार्यालयले रेकर्ड तयार पारी सो को विवरण नगरमा उपलब्ध गराउनु पर्नेछ ।
नगर प्रमुख राजन मेहताले दिएको जानकारी अनुसार जिल्ला बाहिरबाट आउने व्यक्तिसँगै समुदायमा कोरोना नभित्रिएला भन्न सक्ने अवस्था छैन । त्यसैले ठोस रणनीतिका साथ अघि बढ्नु आवश्यक ठानी त्यस्तो रेकर्ड दुरुस्त गर्न खोजिएको हो ।
घर फर्कंदाको स्वास्थ्य अवस्था, उनीहरू कति समय बस्ने हुन् । त्यसका अलावा होम आइसोलेसन अनिवार्य बस्नुपर्ने जस्ता कुरालाई कडाइका साथ पालना गर्ने र गराउने विषयमा कार्यपालिकाले निर्णय गरी लागू गर्ने मेयर मेहताले बताए ।
मेहताले नगरवासी समक्ष घरपरिवारमै बसेर चाड मनाउन आग्रहसमेत गरेका छन् । उनले अत्यावश्यक अवस्थाबाहेक हिँडडुल र भीडभाड नगर्नसमेत भनेका छन् । समुदायमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेकाले अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्नसमेत उनले आग्रह गरेका छन् ।
नगरपालिकाका स्वास्थ्य अधिकृत सन्तोष देवका अनुसार दशैं मनाउन घर फर्कनेहरूको सवालमा नगर प्रवेशका नाकाहरूमा हेल्थ डेस्कसहितको टिम खटाइने र उनीहरूको स्वास्थ्य अवस्थालगायतका परिचय खुल्ने विवरण दुरुस्त राख्ने गरी तयारी थालिएको छ ।
सङ्क्रमित व्यक्ति होम आइसोलेसनमा बसेको भन्दै बजार, पसलतिर हिँड्ने गरेको पाइएकाले त्यसतर्फ समेत नगरपालिकाले निगरानी बढाउने भएको छ । स्वास्थ्य अधिकृत मिश्रीलाल मेहताका अनुसार स्वास्थ्य मापदण्ड पालना नगर्नेको हकमा कानून बमोजिम कारबाहीका लागि मातहतमा सिफारिस समेत गर्ने गरी नगरस्तरीय रणनीति तय गर्न लागिएको छ ।
नगरपालिकाले लागू गर्न लागेको उक्त निर्णयको बारेमा बिहीबार नगरपालिकामा आयोजित कोरोना सम्बन्धी कार्यक्रममा जानकारी गराइएको हो । कार्यक्रममा नगरको अवस्था र महामारी रोकथामका सवालमा भइआएका गतिविधिका बारेमा पनि जानकारी गराइएको थियो ।
कार्यक्रममा सहभागीहरूले बढ्दो जोखिम रोक्न स्वयम् सजग र सतर्क हुनु बाहेकको विकल्प नरहेको बताएका थिए । उनीहरूले होम आइसोलेसन उपर निगरानी बढाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा स्वास्थ्यकर्मीहरूले भने आफूहरूले जोखिम भत्ता नपाएको दुःखेसो पोखेका थिए ।
सोही कार्यक्रममा कोरोना कहरका बीच अग्रभागमा रही खटिँदै आएका नगर प्रहरी र सरसफाइकर्मीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा नगर प्रमुखसहित उपप्रमुख जमुना गौतम पोखरेल, प्रशासकीय अधिकृत डिल्ली निरौला, वडाध्यक्षहरूका साथै कार्यपालिका सदस्यलगायतको उपस्थिति रहेको थियो ।