धरान/ प्रदेश नं. १ सरकार स्थापनापछिको ३० महिनामा भएका कामहरूको प्रदेश योजना आयोगले गरेको समीक्षामा प्रदेश सरकारले समग्रमा ६५.३७ प्रतिशत उपलब्धि हासिल गरेको पाइएको छ ।
आयोगले बुधबार सार्वजनिक गरेको प्रदेश सरकारको मध्यावधि समीक्षा प्रतिवेदनमा प्रदेश सरकारले ६५.३७ प्रतिशत वित्तीय र ७१.९१ प्रतिशत भौतिक तथा ६५.३७ प्रतिशत समग्र उपलब्धि हासिल गरेको उल्लेख छ ।
प्रतिवेदनले कुल गार्हस्थ उत्पादनमा १५.८२ प्रतिशतले वृद्धि भएको, प्रतिव्यक्ति आय ८ सय ९० अमेरिकी डलरबाट वृद्धि भई १ हजार ७१ पुगेको, राष्ट्रिय आर्थिक वृद्धिदर २.२७ हुँदा प्रदेश १ को वृद्धिदर ३.४१ प्रतिशत रहेको पनि उल्लेख छ । मध्यावधि समीक्षा प्रतिवेदनमा प्रदेश सरकारले प्राप्त गरेको समग्र उपलब्धिका साथै ७ वटा मन्त्रालय र ५ निकायहरूको छुट्टाछुट्टै प्रगति पनि समीक्षा गरिएको छ ।
प्रतिवेदनअनुसार मन्त्रालयगत मध्यावधि (२०७४/११/०३ देखि २०७७/०३/३१) सम्मको खर्च तथा उपलब्धि प्रतिशत तुलना गर्दा औसतमा सबैभन्दा बढी सामाजिक विकास मन्त्रालयको ७१.७७ प्रतिशत छ भने सबैभन्दा कम आर्थिक मामिला तथा योजना मन्त्रालयको २९ प्रतिशत छ ।
त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको खर्च तथा उपलब्धि प्रतिशत ६६.१४, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ६३.८८, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ४७.०३, आन्तरिक मामिला तथा कानून मन्त्रालयको ४२.०९, भौतिक पूर्वाधार विकास मन्त्रालयको ६३.४४ प्रतिशत छ ।
त्यस्तै मध्यावधि समीक्षामा गुणात्मक उपलब्धितर्फ पनि आर्थिक मामिला तथा योजना मन्त्रालयले सबैभन्दा कम ६६.६१ अङ्क पाएको छ भने सबैभन्दा बढी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ९३.३३ अङ्क पाएको छ ।
त्यसैगरी आन्तरिक मामिला र भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ८० प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयले ७३.३३, सामाजिक विकास मन्त्रालयले ७२, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले ७१.६७ र आर्थिक मामिला मन्त्रालयले ६६.६१ अङ्क पाएका छन् ।
वित्तीय प्रगतितर्फ सामाजिक विकास मन्त्रालयले सबैभन्दा धेरै ७१.७७ प्रतिशत र आर्थिक मामिला तथा योजना मन्त्रालयले सबैभन्दा कम २९.०१ प्रतिशत उपलब्धि हासिल गरेको प्रतिवेदनमा उल्लेख छ ।
भ्रष्टाचारमा मात्र सफल : प्रतिपक्ष
धरान (ब्लाष्ट) प्रदेश १ को प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले भने प्रदेश सरकारको मध्यावधि समीक्षा प्रतिवेदनमा फोस्रा गफ मात्र रहेको प्रतिक्रिया दिएको छ ।
नेपाली काङ्ग्रेसको प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले हावा कुरा र फोस्रा गफ गरेको आरोप लगाए । उनले भने, ‘प्रदेशमा भेण्टिलेटर, आइसियु नपाएर बिरामी छट्पटाइरहेका छन् । मुख्यमन्त्री भने पुल सिलान्यास गरेर त्यसलाई प्रगति विवरणमा राख्नुहुन्छ । अत्यावश्यक कुरामा सरकारले ध्यानै दिएको छैन ।’
प्रदेश सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको, शिक्षा, स्वास्थ्य जस्ता जनताका आधारभूत कुरा ज्युँका त्युँ रहेको भन्दै सरकारले भ्रष्टाचारमा मात्र प्रगति गरेको आरोप लगाए । उनले भने, ‘जनताका लागि एम्बुलेन्स किन्दैन तर, मुख्यमन्त्रीले एकै वर्षमा तीनवटा गाडी फेरिसके । भ्रष्टाचार, आफन्तलाई अवसर र झण्डावाल गाडी दिनेमा सरकार सफल भएको छ ।’
उनले सरकारले सफल भयौं भनेर लिपिबद्ध गर्नु परालको कुन्युमा चढेर घोडा चढेँ भन्नु जस्तै भएको बताए । उनले थपे, ‘४२ कानून बनाए पनि कति लागू भएका छन् ? कति कार्यान्वयन भए ? लोकसेवा आयोग बन्यो तर, काम केही छैन । आफ्ना मान्छेलाई जागिर दिनेमा मात्र ध्यान गएको देखिन्छ । यसलाई कसरी प्रगति भन्ने ?’