विराटनगर । उपचारको क्रममा आन्द्रा काटिएर बिरामीकाे मृत्यु भएको भन्दै मृतकका आफन्त आन्दोलित बनेपछि पीडित परिवारलाई नोबेल अस्पताल विराटनगरले तीन लाख रुपैयाँ दिएर विवाद साम्य पारेको छ ।

मृतकका श्रीमान् ओम भट्टराईले चिकित्सकले उपचारको क्रममा गम्भीर त्रुटि गरेका कारण बिरामीको मृत्यु भएको दाबी गरेका थिए । मंगलबारदेखि पीडित परिवार आन्दोलित थिए । नोबेल अस्पताल प्रशासनले क्षतिपूर्तिबापत मृतकका आफन्तलाई तीन लाख रुपैयाँ दिएर विवाद साम्य पारेको हो ।

पेटमा समस्या भएपछि आइतबार भर्ना भएकी सोलुखुम्बु नोचासल्यान–४ की ३५ वर्षीय तारादेवी भट्टराईको साेमबार सल्यक्रिया गरिएकाे भए पनि मंगलबार मृत्यु भएको थियो ।

बिहीबार पीडितका आफन्त र अस्पतालका प्रबन्धक नारयण दाहालसहित बसेको वार्तामा अस्पतालले उपचारबापत लागेको एक लाख रुपैयाँ र थप दुई लाख क्षतिपूर्ति दिने सहमति बनेपछि विवाद मिलेको स्रोत बताउँछ । मृतकका आफन्तले भने त्रुटि गर्ने चिकित्सकलाई कारबाही गरिनुपर्ने, पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने र मृतकका छोराछोरीको अध्ययनमा लाग्ने सम्पूर्ण खर्च अस्पतालले व्यहोर्नुपर्ने माग राख्दै आन्दोलित बनेका थिए ।

वार्तामा सहभागी मृतकका एक आफन्तले भने, ‘अस्पतालले लाग्ने सम्पूर्ण खर्च फिर्ता गरिदिने र दुई लाख क्षतिपूर्ति दिने भएपछि सहमति गरेका हौं ।’ अस्पतालले क्षतिपूर्ति दिएपछि आफन्तले शव बुझेर बिहीबार इटहरस्थित बुढी खोलामा अन्तिम संस्कार पनि गरेका छन् ।

यता अस्पतालकका प्रबन्धक नारायण दाहालले अस्पतालले क्षतिपूर्ति नभएर मृतकका परिवारको आर्थिक अवस्थालाई मध्यनजर गर्दै रकम दिइएको खुलाए । ‘यसलाई क्षतिपूर्ति भन्न मिल्दैन,’ उनले ब्लाष्टकर्मीलाई भने । मृतक भट्टराईलाई डाक्टर शान्ति सुवेदीको टिमले सोमबार बिहान शल्यक्रिया गरेका थिए । उनीहरूले शल्यक्रिया सफल भएको दाबी गरेको केही समयपछि नै बिरामीलाई आइसियुमा भर्ना गर्नुपरेको थियो ।