कालाबञ्जार । वराहक्षेत्र–५ कालाबञ्जारस्थित जगन्नाथ डेडराज जनता माविसँग जोडिएका होटलहरूमा मादक पदार्थ सेवन बिक्री गर्न नपाइने भएको छ ।

विद्यालयले व्यवसायका लागि निर्माण गरिएको सटरमा मादक पदार्थ सेवन गर्न नपाइने गरी नियम भएको हो । हाल विद्यालयको ६३ सटर रहेको छ । विद्यालयले यी सटर सञ्चालकलाई ३ महिनाको भाडासमेत छुट गरिदिएको छ ।

तर, मादक पदार्थ सेवन बिक्रीमा भने बाध्यकारी नियम बनाइएको छ । विद्यालय व्यवस्थापन समितिले असोज २६ गते बैठक बस्दै कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनले गर्दा व्यवसाय सञ्चालनमा समस्या भएको भन्दै तीन महिनाको भाडा छुट दिने निर्णय गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज ढुंगानाका अनुसार मासिक भाडादरमा पनि ५ सय रुपैयाँ कम गरिदिने भएको हो ।

विद्यालयका प्रधानाध्यापक हीरामणि पौडेलले विद्यालयको मुख्य प्रवेशद्वारबाट कम्तीमा पनि तीन सय मिटर दूरीभित्र सूर्ती र मादक पदार्थ बिक्री गर्न नपाइने भएको बताए ।