धरान । बैतडीको सुर्नया गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषयमालाई लिएर झडप हुँदा गाउँपालिका अध्यक्षसहित १४ जना घाइते बनेका छन् ।

अध्यक्ष वीरबहादुर विष्टसहित १४ जना घइते भएको प्रहरीले जनाएको छ । जसमा पाँचजना प्रहरीसमेत रहेका छन् । केन्द्र कहाँ राख्ने भन्ने विषयमा पक्ष विपक्ष हुँदा एक पक्षले ताला लगाएको थियो । उक्त ताला खोल्न जाने क्रममा गाउँपालिकाका अध्यक्ष विष्टमाथि ढुंगा प्रहार भएको थियो । उनको टाउँकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

सुर्नया गाउँपालिकाको केन्द्र पबितामा सार्न खोजेको भन्दै स्थानीयले तालाबन्दी गरेका थिए । केन्द्रका विषयमा बुधबार छललफल भए पनि निष्कर्षविहीन बनेको थियो । छलफलबाट निष्कर्ष ननिस्किएपछि प्रहरीको रहोबरमा ताला खोल्ने क्रममा स्थानीयले आक्रमण गरेका थिए ।

झडपमा परेर संघर्षरत पक्षका ६ जना पनि घाइते बनेका छन् । सुर्नया गाउँपालिकाले गत वर्ष नै पबितामा केन्द्र सार्ने निर्णय गरेको थियो । तर, स्थानीयले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । हाल मुद्दा विचाराधीन अवस्थामा गाउँपालिका सार्न खोजिएको भन्दै स्थानीय आक्रमणमा उत्रिएका हुन् । तालाबन्दीकै कारण बुधबार हुन भनिएको गाउँसभासमेत भएका थिएन ।