विजयपुर/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आवासीय क्षेत्रमा ४ दिनदेखि खानेपानी आपूर्ति नहुँदा विशेष गरेर कोरोना सङ्क्रमित प्रतिष्ठानका कर्मचारी समस्यामा परेका छन् ।
प्रतिष्ठानको आवासीय क्षेत्रमा बस्ने कर्मचारी तथा आफन्तहरूलाई पनि कोरोना सङ्क्रमण भएपछि होम आइसोलेसनमा बस्दै आएका छन् । प्रतिष्ठानको सो क्षेत्रमा खानेपानी नआउनुका साथै फोहोरमैला पनि व्यवस्थापन नभएको होम आइसोलेसनमा बस्ने कोरोना सङ्क्रमितहरूले बताए ।
प्रतिष्ठानको आवासीय क्षेत्रमा बस्ने कर्मचारी अविराम राईले ३ दिनदेखि खानेपानी नआएको बताए । अर्का प्रतिष्ठानकै आवासमा होम आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितले पानी नआउँदा समस्या रहेको बताए । उनले कोरोना पोजेटिभ भए पनि पानी लिन आफू बाहिर निस्कन बाध्य भएको बताए । उनले भने, ‘पानी नआएपछि तल झर्न बाध्य हुनुपर्छ ।’
प्रतिष्ठानको आवासीय क्षेत्रको होम आइसोलेसनमा रहेका सन्तोष काफ्लेले पनि ३ दिनदेखि पानी नआउँदा समस्या भएको बताए । फोहोरमैला पनि ३ दिनदेखि व्यवस्थापन भएको छैन । उनले भने, ‘फोहोरमैला व्यवस्थापन नहुँदा सङ्क्रमण बढ्ने खतरा छ ।’
प्रतिष्ठानको आवासमा बस्ने कर्मचारी विष्णुप्रसाद पराजुलीले पनि खानेपानी पर्याप्त नआएको बताए । त्यस्तै प्रतिष्ठानकी कर्मचारी रेमी तामाङले धेरै कोरोना सङ्क्रमित साथीहरूले आफूलाई ४ दिनदेखि पानी नआएको तथा फोहोर व्यवस्थापन नभएको गुनासो गरेको बताइन् । उनले भनिन्, ‘मैले माथिल्लो तहमा जानकारी गराएँ तर, कोरोना सङ्क्रमित भएका क्षेत्रमा कोही जान नमान्ने गरेको जवाफ आयो ।’
प्रतिष्ठानको आवासमा बस्ने एक कर्मचारीले कोरोना सङ्क्रमितले प्रयोग गरेको फोहोरमैला बाहिरै रहेको बताए । ‘फोहोर व्यवस्थापन गर्नेहरूमा पनि सर्छ भन्ने डरले होला उठाउन आउँदैनन्’ उनले भने, ‘खासमा बिहानको ७ बजेअगाडि फोहोरमैला उठाइसक्नुपर्ने हो । तर, कुनै कुनै स्थानमा निकै दिनसम्म पनि उठाइएको छैन ।’
अर्का सङ्क्रमितले कोरोना सङ्क्रमित बिरामीलाई समस्या परेमा सम्पर्क गर्नू भनेर कम्तिमा फोन नम्बर वा भिडियो कल गर्ने व्यवस्था हुनुपर्नेमा तर, त्यस्तो व्यवस्था नरहेको बताए । उनले भने, ‘सङ्क्रमितलाई समस्या पर्दा के गर्ने ? चिनेको चिकित्सक हुनेले सम्पर्क गर्नुहुन्छ, हामी नहुनेले के गर्ने ?’
प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले खानेपानीको समस्याको विषयमा गुनासो आएकोले समाधानका लागि सम्बन्धित पक्षलाई निर्देशन दिएको बताए । उनले फोहोरमैला नउठाएको विषयमा आफूलाई जानकारी नआएको बताउँदै समस्या भए तत्काल समाधानमा लाग्ने बताए ।