विराटनगर । उपचारको क्रममा बिरामीको आन्द्रा काटिएको आरोप नोबेल अस्पतालको चिकित्सकमाथि लागेको छ ।
आन्द्रा काटिएको भन्दै बिरामीका आफन्त दुई दिनदेखि आन्दोलित बन्दा अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ । बिरामीका आफन्तले चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको दाबी गर्दै आएका छन् । यता चिकित्सक तथा अस्पतालले मृतकको विषयलाई लिएर कुनै आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।
उपचारको क्रममा सोलुखुम्बु नोचासल्यान गाउँपालिका–४ की ३५ वर्षीय तारादेवी भट्टराईको मृत्यु भएको हो । उनको मंगलबार बिहान ७ बजेतिर मृत्यु भएको हो । महिलाको मृत्युपछि आफन्तले चिकित्सकको कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग राख्दै मंगलबार दिनभरि आन्दोलन गरेका थिए ।
बुधबार पनि आन्दोलन यथावत रह्यो । मृतक महिलाको पाठेघरमा ट्युमर पलाएपछि शल्यक्रियाका लागि भर्ना गरिएको थियो । डाक्टर शान्ति सुवेदीको टिमले शल्यक्रिया गरेका थिए भने शल्यक्रिया भएको एक घण्टापछि नै बिरामीलाई आइसियुमा भर्ना गर्नुपरेको थियो । चिकित्सक सुवेदीको टिमले शल्यक्रिया सफल भएको दाबी गरेको थियो ।
दाबी गरेको केही समय लगत्तै आइसियुमा भर्ना गरिएपछि भने बिरामीको मृत्यु भएको थियो । त्यसपछि नै आफन्तले लापरबाहीको आशंका गर्दै आएका छन् । यस विषयमा हालसम्म अस्पताल प्रशासनले कुनै लिखित प्रतिक्रिया नजनाए पनि अस्पतालका प्रबन्धक नारायण दाहालले बिरामीको उपचारका कुनै लापरबाही नभएको दाबी गरे । त्यो दाबीप्रति पीडितका आफन्त विश्वस्त हुने आधार भने प्रस्तुत गरेका छैनन् । शल्यक्रियाको क्रममा २ केजीको ट्युमर निकालिएको थियो ।