विराटनगर । नेपालमा कोरोना संक्रमितको उपचारमा ‘रेमडेसिभिर इन्जेक्सनको’ प्रयोग हुन थालेपछि कालोबजारी हुने गरेकाले विकृति नियन्त्रण गरि राज्यले सहज रूपमा रेमडेसिभिर उपलब्ध गराउनुपर्ने औषधि व्यवसायीहरूले माग राखेका छन् । नेपाल औषधि व्यवसायी महासंघ मोरङ शाखाले यस्तो माग राखेका हुन् ।
यहाँका औषधि व्यवसायीहरूले बुधबार प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई भेटेर रेमडेसिभिर इन्जेक्सन सहज रूपमा उपलब्ध गराउन माग राख्दै ज्ञापन पत्र बुझाए । उनीहरूले नेपाल औषधि व्यवस्था विभाग विराटनगर र जिल्ला प्रशासन कार्यालय मोरङमा पनि ज्ञापन पत्र बुझाएका छन् । संघका अध्यक्ष लक्ष्मी तिम्सिना, उपाध्यक्ष देशबन्धु ढकाल र महासचिव दिनेश ठाकुरले संयुक्त रूपमा ज्ञापन पत्र बुझाएका थिए ।