धरान/ बिरामी चेकजाँच गर्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न एमबिबिएस/बिडिएस विद्यार्थीमा समेत व्यापकरूपमा कोरोना सङ्क्रमण भएपछि आइतबारदेखि उनीहरू बस्ने होस्टल सिल गर्नुका साथै इन्टर्नसिप ड्युटी एक सातालाई रोक लगाइएको छ ।
बीपी प्रतिष्ठानका होस्टल वार्डेनसमेत रहेका कोरोना संयोजक डा. इन्द्र लिम्बूले प्रतिष्ठानमा इन्टर्नसिप गरिरहेकामध्ये ८ छात्रासहित २६ जनामा कोरोना सङ्क्रमण देखिएकाले तत्कालका लागि इन्टर्नसिपमा रोक र होस्टल सिल गरिएको बताए । उनले ब्लाष्टलाई भने, ‘तिनै इन्टर्नहरूले पनि जुनियर चिकित्सकजस्तै बिरामीको स्वास्थ्य चेकजाँच गर्ने भएकाले अन्य बिरामीमा नसरोस् भनेर इन्टर्नसिप रोक्नुका साथै उनीहरू बस्ने होस्टलसमेत एक साताका लागि सिल गरिएको हो ।’
उनका अनुसार एमबिबिएस/बिडिएस गरेपछि इन्टर्नहरूले थप अध्ययन र अभ्यासका लागि प्रतिष्ठानमा अरू जेआर चिकित्सकजस्तै बिरामी जाँच्ने गर्छन् । डा. लिम्बूका अनुसार प्रतिष्ठानको होस्टलमा १ सय ४० जना इन्टर्न बस्ने गरेका छन् । उनले सङ्क्रमितमध्ये केहीलाई कोभिड अस्पतालमा भर्ना गर्नुपरेको पनि बताए ।
करिब २२ देखि २५ वर्ष भित्रका इन्टर्नहरू कोरोना महामारी भए पनि आफ्नो ड्युटी सकेपछि प्रतिष्ठानबाहिर निस्केर घुम्ने, साथीभाइसँग रमाइलो गर्ने युवापुस्ताका भएकाले बढी सङ्क्रमित भएको हुनसक्ने बताइएको छ । कोरोनाको सङ्क्रमण बढेपछि इन्टर्न छात्रहरूलाई ९ नम्बर र छात्राहरूलाई ७ नम्बर होस्टलमा राखिएको छ । उनीहरूलाई एक सातासम्म होस्टलबाहिर ननिस्कन उर्दी जारी गरिएको छ ।