इटहरी/ कोरोना महामारीका कारण जोगवनी नाका बन्द हुँदा इटहरीका होलसेल तथा खुद्रा पसलमा व्यापार बढेको छ । अघिल्लो वर्षको तुलनामा इटहरी क्षेत्रमा दशैं बजारको चहल–पहल बढेको इटहरीका व्यापारीहरू बताउँछन् ।

लामो समयदेखि बन्द रहेका बजार, पसल खुलेका छन् भने यातायातका साधन चलेपछि अहिले इटहरी बजारमा मानिसको चहल–पहल बढेको हो । नजिकिँदै गएको नेपालीको पर्व बडा दशैंका लागि सीमावर्ती भारतीय बजार जाने ग्राहक अहिले आ– आफनै स्थानीय बजारमा किनमेल गरिरहेका छन् ।

कोरोना भाइरसको महामारीका कारण सरकारले सीमा सिल गरेकाले प्रदेश १ कै व्यापारिक हब इटहरी बजारमा यतिबेला किनमेल गर्नेको घुइँचो लाग्न थालेको हो । विराटनगरको कञ्चनबारीदेखि सामान किन्न आएका नवराज कोइरालाले जोगवनी बन्द भएपछि चाइनाको सामान लिन इटहरी आएको बताए । उनले इटहरीमा केही सस्तोमा सामान पाइने भएकोले इटहरी आएको बताए ।

कोरोना भाइरसको सङ्क्रमणका कारण सीमा सिल भएकाले इटहरी क्षेत्रमा यस वर्ष व्यापार, व्यवसाय राम्रो भएको यहाँका उद्योगी व्यवसायीले खुशी व्यक्त गरेका छन् । रेडिमेड तथा जुत्ता–चप्पल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष सीताराम सापकोटाले अहिले व्यापार बढेको बताए । अहिले प्रदेश १ को ताप्लेजुङ, सोलु र पाँचथरबाहेक सबै जिल्लाका व्यापारीहरू सामान किन्न इटहरी आएको सापकोटा बताउँछन् ।

कोरोना भाइरसको महामारीका कारण सरकारले गरेको सीमा सिलले चाडपर्वलगायतका अवसरमा सस्तोमा किनमेल गर्न भारतीय बजार जाने ग्राहक अहिले इटहरी बजारमै किनमेल गर्न थालेका छन् । सीमाक्षेत्र खुल्ला हुँदा कपडा किन्नसमेत जोगवनी पुग्ने ग्राहकहरू अहिले इटहरी बजारमै किनमेलमा निस्किएको उनी बताउँछन् ।

‘व्यवसायीको अनुहारमा अहिले खुशियाली छाएको छ । नेपाली बजारमा ग्राहकको उपस्थिति बढाइरहन व्यवसायीले धेरै मुनाफा नखोजी थोरैमा चित्त बुझाउने हो ग्राहक पाइने रहेछ’ –उद्योग वाणिज्य सङ्घ इटहरीका महासचिव पिताम्बर पोखरेलले भने । उनले भने अहिले इटहरी बजारमा ग्राहक बढेका छन् ।  पछिल्लो समय इटहरी बजारका पसलमा भीडभाड बढ्दो क्रममा छ ।

सीमावर्ती बजार जोगवनी जानका लागि नाका बन्द भएका कारण बाहिरबाट आउने ग्राहक इटहरीमा नै केन्द्रित भएको महासचिव पोखरेल बताउँछन् । दशैं नजिकिएका कारण सर्वसाधारण दशैंको तयारीका लागि लत्ताकपडा, खाद्यान्न र अन्य सामग्री खरिद गर्न बजारमा देखिएका छन् । लकडाउन खुलेसँगै ग्राहकहरू बजारमा आउन थालेको उनी बताउँछन् ।

दशैं नजिकिएसँगै बजार, पसलमा भीडभाड बढेको इटहरीका व्यापारी रविकुमार साहले बताए । व्यापारले विस्तारै लय समात्न थालेको उनको अनुभव छ । अहिले बजारमा चहल–पहल बढेको भन्दै उनले खुशी व्यक्त गरे । सीमा नाका बन्द भएका कारण किनमेल गर्ने ग्राहक इटहरीमा नै रोकिँदा केही सहज भएको व्यापारी बताउँछन् ।