विराटनगर । भारतीय बजार पुगेर फर्किएका नेपाली नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टिनमा राख्न थालेको छ ।

चोर बाटो भएर नेपालको सीमावर्ती बजार जोगबनी पुग्ने नेपालीहरूलाई सीमामा खटिएका प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टिनमा राख्न थालेको हो । दैनिक कोरोना संक्रमित बढे पनि अटेर गर्दै लुकिछिपी जानेहरूलाई नियन्त्रणमा लिन थालिएको नेपाल प्रहरीले जनाएको छ ।

सीमा नाका सिल हुँदा पनि जोगबनी पुगेर फर्किएका ८५ जनालाई नियन्त्रणमा लिएको हो । शनिबार ४५ जनालाई नियन्त्रणमा लिइएको थियो भने आइतबार ४० जनालाई नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

प्रहरीले नियन्त्रणमा लिएकाहरूलाई होम क्वारेन्टिनमा राख्ने सहमतिमा छाडिएको उनले जानकारी दिए । नियन्त्रणमा लिएकाहरूलाई विराटनगरस्थित डिएभी स्कुलको क्वारेन्टिन र पक्राउ गरिएको सम्बन्धित स्थानिय तहले बनाएको क्वारेन्टिनमा पठाउने एसपी खड्काले जानकारी दिए ।