भद्रपुर / नेपाल भारत सीमा क्षेत्रमा नै गोदाम राखेर अवैध धन्दा चलाइ रहेका कारोबारीको प्रहरीले गादाममा छापा मारेको छ । भारतबाट भन्सार छलेर अवैध रुपमा नेपालमा भण्डारण गरी राखिएको साढे ४ लाख रुपैयाँ भन्दा बढीको विभिन्न प्रकारका सामान प्रहरीले छापा मारेर बरामद गरेको जनाएको छ ।

झापाको कचनकवल स्थित वनियानीमा गोदाम राखेर अवैध धन्दा चलाइरहेको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले बुधबार विहान गोदाम छापा मारेको सो कार्यालयले जनाएको छ ।

भारतबाट विभिन्न मितिमा लुकाइ छिपाइ नेपाल भित्र्याएको भन्ने गोप्य सूचनाको आधारमा गोदाम छापा मारेर सामान बरामद गरिएको जिल्लाका डिएसपी राकेश थापाले जनाए ।

प्रहरीले २ लाख रुपैयाँ मूल्य बराबरको मोटर पार्टस,कपडा १ लाख ८० हजारको र अन्य सुर्तीजन्य पदार्थ,चक्लेट,पान मसला लगायत विभिन्न ५० प्रकारका १ लाख रुपैयाँ मूल्य बराबरको सामान बरामद गरिएको डिएसपी थापाले जनाए । बरामद सामग्रीलाइ विहीबार भद्रपुर भन्सार कार्यालय दाखिला गरिने उनको भनाइ छ ।

झापाको दक्षिणी क्षेत्रमा अरुण शाह र रञ्जित शाहले अवैध रुपमा विभिन्न प्रकारका सामान तस्करी गर्दै आइरहेका छन् । रञ्जितले दुइवटा मोटर साइकल र अटो रिक्सा प्रयोग गरी धन्दा चलाइ रहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरीले सो क्षेत्रमा निगरानी बढाएको थियो । निगरानीका क्रममा प्रहरीले गोदामबाट नै सामान बरामद गरेपछि अवैध धन्दामा संलग्न कारोबारीहरु अतालिएको सुरक्षा स्रोतबाट जानकारी आएको छ ।