विराटनगर । खुल्ला सिमाको फाइदा उठाउँदै भारतदेखि लुकीछिपी तस्करी गरि ल्याएको ठूलो परिमाणको सामान मोरङ प्रहरीले बरामद गरेको छ । प्रहरीले मोरङका विभिन्न स्थानबाट तस्करीका सामान बरामद गरेको हो ।

भारतबाट नेपाल र नेपालबाट भारततर्फ भन्सार छली गरेर आयात–निर्यात भइरहेको अवस्थामा प्रहरीले अवैध सामान नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।

विराटनगर महानगरपालिका–१५ बाट भारतदेखि नेपालतर्फ अवैध रूपमा आयात भइरहेको कपडा, जुत्ता र किराना मालसामान प्रहरीले मंगलबारराति बरामद गरेको छ । प्लाष्टिकको बोरामा प्याक गरेर आयात गर्दै गरेको अवस्थामा एक लाख २६ हजार मूल्य बढीको जुत्ता, कपडा र किराना सामान नियन्त्रणमा लिइएको एसपी खड्काको भनाइ ।

विराटनगर–१४ बाट प्रहरीले बुधबार बिहान भारतबाट अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा ६० किलो काजु र ९० किलो जिरा बरामद गरेको छ । एक लाख आठ हजार मूल्य बराबरको काजु र जिरा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

धनपालथान गाउँपालिका–१ गडेरीयाबाट प्रहरीले ९० बोरा सेतो मटर मंगलबार बरामद गरेको छ । नेपालबाट तस्करी गरेर भारततर्फ लगिँदै गरेको सूचनाका आधारमा एक लाख ८० हजार मूल्य बराबरको मटर बरामद गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । नेपाल–भारत सीमा क्षेत्रको दशगजा नजिकै रहेको श्याम मण्डलको घरको आँगनबाट मटर बरामद भएको हो । आधिकारिक बिल देखाउन नसकेपछि र भारततर्फ कटाउन लागेको अवस्थामा तस्करीको मटर नियन्त्रणमा लिइएको उनले बताए ।

एसपी खड्काले बरामद भएका भन्साली छलीका अवैध सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको बताए ।  नियन्त्रणमा लिइएका सबै सामान चार लाख १४ हजार दुई सय रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।