ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले देशभरका धार्मिक शक्तिपीठलाई कार्तिक १ गतेदेखि खुला गर्ने तयारी भएको बताएका छन् । कोभिड १९ का कारण लामो समयदेखि बन्द रहेका धार्मिक तथा साँस्कृतिक क्षेत्रलाई क्रमस खोल्दै लैजाने बताए ।

ताप्लेजुङको ओलाङचुङगोला स्थित बोर्डर आउट पोष्ट (बिओपी) को उद्घाटनका क्रममा बुधबार गृह जिल्ला ताप्लेजुङ आईपुगेका मन्त्री भट्टराईले बिहिबार बस्ने मन्त्रीपरिषद्को बैठकमा धार्मिक क्षेत्रलाई खुला गर्ने प्रस्ताव लैजाने र पारित भएमा कार्तिकको सुरुबाट क्रमसः खोल्दै लगिने जानकारी दिए ।

दशैँ, तिहार जस्ता चाडबाड नजिकिए संगै सरकारले देशैभरका धार्मिक तथा साँस्कृति क्षेत्रलाई निश्चित संख्यामा क्रमस खोल्दै लैजाने तयारी गरेको उनको भनाई थियो । यस अघि विहान मन्त्री भट्टराईले ओलाङचुङगोला स्थित बिओपीको उद्घाटन गरेका छन् । चीनसंगको सीमावर्ती क्षेत्रमा बिओपी स्थापना संगै सीमा क्षेत्रमा देखिएका सुरक्षा चुनौती क्रमस घट्दै जानेमा उनले विस्वास व्यक्त गरे ।

मन्त्री भट्टराई सहित गृह सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, शसस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुशन्धान विभागका प्रमुख गणेश प्रसाद अधिकारी लगायत ताप्लेजुङ आएका थिए । नेपाली सेनाको हेलिकप्टरमा आएको मन्त्री सहितको टोली संखुवासभाको किमाथाङ्का स्थित बिओपीको कार्यालय भवन शिलान्यास गर्न त्यस तर्फ प्रस्थान गरेको छ ।