विजयपुर । धरान उपमहानगर पालिकामा दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्न थालेपछि कसरी नियन्त्रण गर्ने भन्ने विषयमा बुधबार (आज) छलफलका लागि सर्वदलिय–सर्वपक्षिय बैठक बस्दै छ ।

धरानमा कोरोना संक्रमणको नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने विषयमा धरानका राजनितीक दल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रतिनिधि, उद्योगी व्यवसायी स्वास्थ्यकर्मी, बुद्धिजिवी लगायतको बैठक बस्ने भएको हो ।

धरानका धेरैजस्तो राजनीतिक दलको धारणा लकडाउन गर्नुपर्छ भन्ने पक्षमा देखिएपनि केहि राजनीतिक दलको भने लकडाउन मात्र विकल्प होइन भन्ने धारणा छ । यस विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरानका अध्यक्ष नारायण सुवेदी लकडाउन मात्र विकल्प नभई अन्य विकल्प पनि खोज्नुपर्ने तर्क गर्छन् । सुवेदीले बजारमा स्वास्थ्य मापदण्डको अवज्ञा गरेको पाएको उपमहानगरले त्यसमा कडाइ गर्नुपर्ने वताए । उनले मास्क, स्यानीटाइजरको प्रयोग र सामाजिक दुरी कायम गरे केहि नियन्त्रण हुने बताए ।

नेपाली कांगे्रस धरानका पुर्व सभापति किशोर राई उपमहानगरले तत्काल बजार पसल बन्द गर्नुपर्ने बताउँछन् । उनले विकास भन्दापनि नगरवासी बचाउन लाग्नु पर्ने बताउँदै कोरोना नियन्त्रणका लागि आइसोलेसन, क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने बताए । राईले बीपी प्रतिष्ठानको कोभिड अस्पताल अनुगमन गर्दा अव्यवस्थित रहेको पाए पछि उपमहानगरले पहिलो प्राथमिकता कोरोना नियन्त्रणको व्यवस्थापन लाग्नु पर्ने बताए । जनता समाजवादी पार्टी धरानका अध्यक्ष ताजुव लिम्बू पनि उपमहानगरले लकडाउन गर्न ढिलाई गरेको बताउँछन् । उनले भने, ‘आजैका दिनदेखि दशैँसम्म बन्द गर्नुर्छ ।’

उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष गिरीधारी सापकोटा बजार पसल बन्द गरेर कोरोना नियन्त्रण नहुने बताउँछन् । सापकोटाले भने, ‘संघीय सरकारले यातायात सञ्चालन गरेपछि मानिसहरुको आवतजावतले संक्रमण बढेको हो ।’ सापकोटा स्वास्थ्य मापदण्ड अपनाएर बजार खोल्नुपर्ने बताउँछन ।

यता धरान उपमहानगरपालिका प्रमुख तिलक राईले आज सर्वपक्षिय छलफलमा केहि सुझाव आउने र त्यसको आधारमा आवश्यक निर्णय लिने वताए । उनले भने, ‘स्वास्थ्य मापदण्डअनुसार हो भने २ सय ५० संक्रमित नाघेपछि लकडाउन गर्नुपर्ने रहेछ तर धरानमा ६–७ सय भइसक्यो ।’ उनले थपे, ‘बन्द गर्नुपर्छ तर धरानमा मात्र गरेर नियन्त्रण हुँदैन । सवारीसाधन चलेपछि नगरवासीलाई थुनेर के हुन्छ ?’

लकडाउन गर्ने अधिकार स्थानीय तहलाई भन्दा पनि प्रमुख जिल्ला अधिकारीलाई रहेको छ । यस विषयमा नेकपा धरान इन्चार्ज चोत्लुङ प्रशासनिक रुपमा प्रमुख जिल्ला अधिकारीलाई भएपनि राजनितीक रुपमा र स्थानीय सरकार आवश्यक निर्णय लिनुपर्ने बताउँछन् । सुनसरीमा पनि दिन प्रतिदिन संक्रमित संख्या बढीरहेको छ ।