विराटनगर/ नेपाल र भारतको सीमा नाका दशगजानजिक ‘काँटा’ (गोला) राखेर हरियो मटर, गहुँ र अन्य खाद्यवस्तुको दिनहुँ तस्करी हुने गरेको पाइएको छ ।
मोरङको जहदा, धनपालथान र रङ्गेली नगरपालिकाको दक्षिणीभेग भारतसँग सीमा जोडिएको दशगजानजिक काँटा राखेर मटर, गहुँलगायत खाद्यवस्तुको दैनिक तस्करी हुने गरेको तथ्य बाहिर आएको हो ।
मोरङमा भारतसँग सीमा जोडिएको ६३ किलोमिटर क्षेत्रमा साना–ठूला ३६ वटा नाका छन् । ती नाकामा तीन दर्जन बढी व्यापारीको काँटा रहेका छन् । उनीहरूले गहुँ, धान, हरियो मटरलगायतका खाद्यवस्तुको खरिद बिक्री गर्दछन् । आइतबार राति मोरङको जहदा गाउँपालिका–१ कुलरियामा ठूलो परिमाणमा भारतदेखि तस्करी गरी भण्डारण गरिएको गहुँ प्रहरीले बरामद गरेको छ । मोरङ प्रहरी र इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक दीपक थापाको टोलीले सीमा नाकादेखि एक सय मिटर उत्तरमा रहेको धर्मचन्द्र साहको घरमा भण्डारण गरिएको ६ हजार २ सय ४० केजी गहुँ बरामद गरेको हो ।
प्रहरीले बरामद गरेको ६० केजीको १ सय ४ बोरा गहुँ तस्करी गरी नाकामा ल्याएर भण्डारण गरिएको अवस्थामा बरामद गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । ‘रातिको समयमा तस्करीमा लागेका गिरोहले साइकलमा एक जनाले ३ बोराको दरले नेपाल प्रवेश गराउने गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुल्न आएको छ’ एसपी खड्काले भने, ‘अहिले बेसिजनको बेलामा गहुँको तस्करी हुने गरेको पाइयो ।’ तस्करीमा संलग्नहरू फरार रहेकोले उनीहरूको खोजी कार्य तीव्र बनाएको उनले बताए । तस्करी रोक्न सीमा नाकामा कडाइ गरिएको उनको भनाइ छ ।
नेपालमा गहुँको सिजन नभएकोले भारतबाट प्रति क्विण्टल ३ हजार १ सय रूपैयाँमा खरिद गरेर ल्याई प्रतिक्विण्टल ५ सयदेखि ६ सय रुपैयाँ नाफा राखी ३ हजार ६ सयदेखि ३ हजार ८ सय रुपैयाँसम्ममा मिललाई बिक्री गर्ने गरेको प्रहरी स्रोतको दाबी छ । सीमा क्षेत्रमा काँटा राखी व्यापार गर्ने व्यापारीले तस्करी गरेको गहुँ, चामलहरू फर्जी बिल बनाएर मिललाई बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरूले नेपालबाट मटर, दाल, मरिच भारततर्फ तस्करी गर्दछन् ।
आइतबार राति जहदा गाउँपालिका–७ स्थित तारेगामा सीमा नाकामा नेपालबाट भारततर्फ लैजाँदै गरेको ५० बोरा मिक्सर दाल प्रहरीले बरामद गरेको छ । पछिल्लो समय विशेषगरी रङ्गेलीको सिक्टी, धनपालथान गाउँपालिका–२ खैरबोना, जहदा गाउँपालिकाको तरेगामा, नोचा, विराटनगर–१७ को इश्लामपुर नाकाबाट तस्करी हुने गरेको स्रोतको दाबी छ । सो नाकामा रहेका काँटा व्यापारीले तस्करीका गिरोह प्रयोग गर्ने गरेको बुझिएको छ ।
मङ्गलबार नेपालबाट भारततर्फ लैजान लागेको १ सय बोरा तस्करीको हरियो मटर प्रहरीले बरामद गरेको छ । सो मटर विराटनगरका व्यापारीबाट खरिद गरेर साहले भारततर्फ लैजान लागेको अवस्थामा नोचाबाट पक्राउ गरेको हो । स्रोतको अनुसार सुमन साहले तस्करीको धन्दा चलाउने नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग सेटिङ मिलाएको बुझिएको छ । अहिले यो नाकाबाट रातिको समयमा तस्करीको हरियो मटर नेपालबाट भारततर्फ जाने गरेको स्थानीय बताउँछन् ।
धनपालथान गापा–२ खैरबोनास्थित सीमा नाकामा घरैपिच्छे काँटा रहेको छ । स्थानीय जयप्रकाश साह, उमेश साह, देवनारायण मण्डल, उचितलाल साह र सर्वण साहले बोर्डरछेउमा काँटा राखेका छन् । भारतमा घर भएका गैडला मण्डलले पनि नेपाली भूमिमा आएर धानको काँटा राखेको खुलेको छ । उनले धनपालथानका स्थानीय देवनारायण मण्डलको नाममा काँटा राखेर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
धनपालथान–३ मायागञ्जस्थित छोटी भन्सारदेखि पूर्व करिब ३ किलोमिटर खैरबोनी, नोचा, मायागञ्जबाट दिनहुँ रातिको समयमा ट्याक्टर र साइकलमा नेपालबाट हरियो मटर, दाल जाने गरेको र भारतदेखि गहुँ र अन्य खाद्यवस्तु तस्करी हुने गरेको गरेको सीमा क्षेत्रका एक बासिन्दाले नाम नछाप्ने शर्तमा बताए । ‘प्रहरी प्रशासनसँगको सेटिङमा अहिले तस्करीको लाइन खुलेको छ’ नाम नछाप्ने शर्तमा सीमा क्षेत्रका एक स्थानीयले भने, ‘रातिको समयमा नोचासहित मोरङको दक्षिणीक्षेत्रदेखि ट्याक्टरमा हरियो मटर तस्करी भएर भारततर्फ जाने गरेको छ ।’