विजयपुर । धरान स्थित कृषि उपज बजारस्थलमै धरान उपमहानगरपालिकाले निर्धारण गरेको मुल्य भन्दा बढीमा प्याज बिक्रि भईरहेको पाइएको छ ।
व्यापारीहरुले निर्धारित मुल्य भन्दा १५ देखि ३५ रुपैयाँ बढिमा प्याज बिक्रि गरेको पाइएको छ । कृषि बजारमा होलसेलमा प्रतिकेजी ७० रुपैयाँमा बिक्री गर्नु पर्नेमा व्यापारीले होलसेलमै ८५ रुपैयाँ लिने गरेका छन् ।
असोज ६ गते धरान उपमहानगर प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी, इलाका प्रशासन, कृषि उपज बजारका पदाधिकारी र व्यापारीहरुसहितको छलफलले प्याजको थोक(होलसेल) मुल्य ७० रुपैयाँ र खुद्रा मुल्य ८५ रुपैयाँ कायम गरेको थियो ।
धरान ३ स्थित पालिका तरकारी बजारका व्यापारीहरुले प्रतिकिलो १ सय रुपैयाँमा बेच्दै आएका छन । धरानभित्र कतिपय व्यापारीले १ सय २० रुपैयाँसम्म प्रतिकिलोसम्म पनि बिक्री गरिरहेका छन् । पालिका बजारका व्यापारीलाई ब्लाष्टकर्मीले किन निर्धारित मुल्य भन्दा बढि मुल्यमा विक्रि गर्नु भएको ? भनि प्रश्न गर्दा व्यापारीहरु घनश्याम चौधरी, सहदेव चौधरी लगायतले कृषि बजारमा नै बढि मूल्य लिने गरेकाले आफुले पनि बढीमा बेच्नु परेको बताए ।
उनीहरुले अनुसार कृषि बजारमै व्यापारीले ८५ देखि ९० रुपैयासम्म लिने गरेको बताए । धरान–३ स्थित सदन रोडमा पनि १ सय रुपैयाँ प्रतिकेजी प्याज बिक्रि भईरहेको पाईयो । त्यहाँका व्यापारी सन्दिप श्रेष्ठलाई प्रश्न गर्दा उनले भने, ‘हामीले नै ८५ देखि ९० सम्ममा किन्नुपर्छ । कति त नष्ट हुन्छ । हामीलाई पनि एक दुइ रुपैया चाहियो नि ।’
भानुचोक नजिकको तरकारी बजारमा पनि प्याज प्रतिकिलो १ सय रुपैयाँमा बिक्री भईरहेको पाइयो । कृषि उपज बजार स्थल धरानका अध्यक्ष पर्शुराम कटुवालले व्यवसायीले प्याज ल्याउँदा बिग्रिएर आएकाले महँगोमा बिक्री गर्नु परेको बताए ।
कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराई भने उपमहानगरले अनुगमन गरेर छोड्ने गरेको हुनाले व्यापारीहरुले मनोमानी तरिकाले विक्रि गर्ने गरेको बताए । उनले भने, ‘धेरैमा बेचेको भेटेपछि कार्वाही गरिहाल्ने हो भने दोहोरिदैन थियो ।’ बजारमा आफु नभएको र के छ भन्ने जानकारी नभएको उनले बताए ।
उपमहानगरपालिकाकी उपप्रमुख तथा बजार अनुगमन संयोजक मञ्जु भण्डारी भारतबाट प्याजको सहज आपुर्ति नभएकाले लुकिछिपि ल्याएको भन्दै व्यापारीले महँगोमा बेच्ने गरेको बताईन् ।