बिर्तामोड/झापाको धुलावारीमा प्रदेशकै पहिलो पाँचतारे होटल सञ्चालनमा आएको छ । नेपालसहित, भारत, बंगलादेश, भुटान, बर्मालगायतका देशबाट आउने पर्यटकलाई लक्षित गरी धुलाबारीम पाँचतारे होटल सञ्चालनमा आएको हो ।
नेपालको पाँच तारे होटलहरूको सूचीमा पछिल्लोपटक धुलाबारीमा ‘होटल मेची क्राउन’ थप भएको हो । पिक हस्पिटालिटीले यस होटलको व्यवस्थापन सम्हाल्नेछ । चारजनाको समूहमा रहेको हस्पिटालिटीमा यादवप्रसाद पाण्डे, दीपक लेखक, विवेक विष्ट र विशान शाह रहेका छन् ।
पिक हस्पिटालिटीले आगामी वर्षभित्रै आफ्ना शाखाहरु विस्तार गर्ने जनाएको छ । यसअघि बोधी रेडसन भैरहवा, एयरपोर्ट होटल, आनन्द पशुपतिको व्यवस्थापन पनि पिक हस्पिटालिटीले सम्हालेको छ । पूर्वको प्रवेशद्वारको रूपमा रहेको झापास्थित धुलाबारीको यस होटल भद्रपुर विमानस्थलबाट १७ किलोमिटर टाढा छ, जहाँबाट काठमाडौं र पोखराका लागि दैनिक उडान हुँदै आएको छ ।
भारतको बागडोगरा विमानस्थलबाट २५ किलोमिटरको दुरीमा रहेको होटल नेपालमात्रै नभएर भारतीय पर्यटकको रोजाइमा पर्ने पिक हस्पिटालिटीका सञ्चालक पाण्डेले जानकारी दिए । भारतसहित बंगलादेशका पर्यटक पनि आउने एक गन्तव्यका रुपमा आफूहरुले होटललाई लिएको उनले बताए । होटेलमा डेढ अर्ब लगानी छ भने यो होटल ८ बिगाहा क्षेत्रफलमा फैलिएको छ । होटल अगाडि निर्माण भएको बगैंचामा पानीको झरना र हावा घरले स्वागत गर्नेछ ।
होटल परिसरमा निजी हेलिप्याडको व्यवस्था रहेको छ भने पाँचसय सवारीसाधन पार्किङ गर्न सकिने छ । होटलका १०५ कोठा मध्ये ५ मेची सुइट्स रुम, १० वटा एक्जुकेटिभ भिला रुम, १९ मेची क्लब रुम र ७१ वटा डिलक्स रुम छन् । विवाह, बैठक, सम्मेलन, सेमिनार आदीका लागि पनि होटलमा सुबिधा सम्पन्न हलहरु उपलब्ध छन् । यसमा दुईवटा रेष्टुरेन्टसमेत छन् ।
होटल तथा क्यासिनो पूर्णरुपमा सञ्चालनमा आएपछि कम्तिमा पनि ९ सय नेपालीले प्रत्यक्ष रोजगार पाउनेछन् । होटलमा स्थापना हुन लागेको क्यासिनो नेपालकै ठुलो भएको दावी सञ्चालकको छ । ३२ हजार स्क्वायर फिटको क्यासिनो सो होटलमा स्थापना हुने तथा क्यासिनोमा नेपालीलाई अनुमति नदिइने समेत सञ्चालकमध्येका दीपक लेखकले बताए ।