धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले कानून विपरीत नियुक्ति, सरुवा र सामान खरिद गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

कोरोना सङ्क्रमण भएर आइसोलेसनमा बसिरहेका उपकुलपति डा.गिरीको हस्ताक्षरमा धमाधम कर्मचारी नियुक्ति र सरुवा हुन थालेपछि आयोगको इटहरी कार्यालयले पत्र पठाएर प्रतिष्ठानसँग यसको जवाफ मागेको हो । अख्तियार स्रोतका अनुसार उपकुलपति डा.गिरीले कानून विपरीत गरेका नियुक्ति, सरुवा र विवादित व्यापारी चेतन अग्रवालसँग बिना टेण्डर खरिद गरेका सामग्रीको विषयमा उजुरी परेपछि छानबिन प्रक्रिया अघि बढाइएको हो ।

आइसोलेसनमा बसिरहेका उपकुलपति डा.गिरीको हस्ताक्षरसहितको कर्मचारी सरुवा र नियुक्ति पत्र उनका स्वकीय सचिव दिलिप भट्टराईले दिने गरेका छन् ।प्रतिष्ठानमा कर्मचारीको सरुवा र नियुक्ति गर्नु परे सम्बन्धित विभागको मागका आधारमा रजिष्ट्रारले सिफारिस गरेपछि उपकुलपतिले सरुवा वा नियुक्ति गर्ने प्रचलन छ । तर, उपकुपति डा.गिरीले कसैसँग छलफलसमेत नगरी धमाधम आइसोलेसनबाटै पत्र काट्ने र स्वकीय सचिव भट्टराईले कर्मचारीलाई थमाउने गरेपछि चलखेल भएको आरोप लाग्दै आएको थियो ।

कोरोना सङ्क्रमण भएपछि बिदामा बस्नु पर्ने उपकुलपति डा.गिरीले आइसोलेसनबाटै कोभिड अस्पतालका लागि बिना प्रक्रिया दुई दर्जन कर्मचारी भर्ना गरेका छन् भने प्रतिष्ठानको नियमावलीमै व्यवस्था नभएको प्रेस संयोजक पदमा समेत करारमा कर्मचारी भर्ती गरेका छन् ।

प्रतिष्ठानको नियमावली संशोधन नहुन्जेल यसरी आफूखुसी नियुक्ति नगर्न लोकसेवा आयोगले पहिला पनि प्रतिष्ठानलाई सचेत गराएको थियो । तर, उपकुलपति गिरीले लोकसेवाको निर्देशन अटेर गरी आफूखुसी नियुक्त गरेका हुन् । उनले दैनिक ज्यालादारीमा पनि धमाधम कर्मचारी नियुक्त गरिरहेको प्रतिष्ठान स्रोतले जनाएको छ । उपकुलपति गिरीका यस्तै अवैधानिक कामविरुद्ध अख्तियारमा उजुरी परेको थियो । प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मी भने प्रतिष्ठानको आन्तरिक विषय भएकाले यस विषयमा अहिले बोल्न नमिल्ने बताउँछन् ।

कर्मचारी पनि असन्तुष्ट
उपकुलपति डा.गिरीले जथाभावी सरुवा र नियुक्त गर्न थालेपछि प्रतिष्ठानका कर्मचारीहरूले पनि असन्तुष्टि जनाएका छन् ।

कर्मचारीहरूले मङ्गलबार प्रतिष्ठानका रजिष्ट्रार डा.रेग्मीसमक्ष डेलिगेसन गएर असन्तुष्टि जनाएका हुन् । कर्मचारी समन्वय समितिका संयोजक महेश्वर राईका अनुसार पहिला प्रतिष्ठानमा कर्मचारीहरू २–२ वर्षमा स्थानान्तरण गर्ने प्रचलन थियो । तर, अहिले उपकुलपति गिरीले जथाभावी सरुवा, नियुक्ति गर्न थालेपछि असन्तुष्टि जनाएको उनले बताए । उनी भन्छन्, ‘उपकुलपतिका कामले हामीलाई आशङ्का र आश्चर्य पैदा भएको छ । रजिष्ट्रारलाई प्रशासनिक प्रमुखको हिसाबले सोध्दा उहाँले आफूलाई जानकारी नभएको बताउनुभयो ।’

उपकुलपति गिरीले खरिद शाखाका प्रमुख विष्णु चापागाईंलाई शैक्षिक प्रशासनमा, शैक्षिकका डिल्ली लुइटेललाई सामान्य प्रशासनमा, सामान्य प्रशासनका कुन्दन श्रेष्ठलाई हस्पिटालिटी एण्ड रिक्रिएसन शाखामा र सामान्य प्रशासनका अशोक साहलाई खरिद शाखामा सरुवा गरेका थिए भने इञ्जिनियर मदन साह र ओभरसियर विकास बस्यालको जिम्मेवारी हेरफेर गरिएको थियो । संयोजक राई भन्छन्, ‘आर्थिक सल्लाहकार, प्रेस संयोजक, कानूनी सल्लाहकार बिना प्रक्रिया धमाधम नियुक्ति गरिएको छ । कोभिड अस्पतालमा पनि बिना प्रक्रिया अफिसर, सवारी चालकदेखि हेल्परसम्म नियुक्ति गरिएको छ । यस्तो कार्यले प्रतिष्ठानलाई सबल होइन, धरासायी बनाउँछ ।’