धरान । रूसमा बनेको कोरोना भाइरसविरुद्धको खोप नेपालमा ल्याइने भएको छ ।

नेपालको औषधि उत्पादन कम्पनी ट्रिनिटी फर्मास्यूटिकल्स र रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फण्डबीच सम्झाैता भएसँगै ‘स्पुटनिक–५’ नामक औषधि नेपालमा भित्र्याइने भएको हो । नेपालमा २ करोड ५० लाख डोस औषधि ल्याउने गरी सम्झौता गरिएको छ । तर, नेपाल सरकारकाे अनुमतिकाे पर्खाइमा रहेका छन् । 

यसले नेपालका ९० प्रतिशत जनतालाई लगाउन पुग्नेछ । नेपालमा हाल ३ करोड १५ लाखभन्दा बढी जनसंख्या रहेको अनुमान गरिएको छ । यो भ्याक्सिन रुसी सरकारले प्रत्यक्ष लगानीमा उत्पादन गरेको हो ।

यो खोप सबैभन्दा पहिलो पटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीमाथि सफल परीक्षण गरिएको थियो । परीक्षणमा निकै सफल भएको दाबी रुसले गर्दै आए पनि अन्य देशहरूले भने शंकाको नजरले हेरिरहेका छन् ।

ट्रिनिटीका निर्देशक किशोर अधिकारीले कोरोना भाइरसविरुद्धको खोप नेपाल भित्र्याउनका लागि रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फण्डसँग सम्झौता भइसकेको बताए । रुसी फण्डले पनि यो सम्झौता सम्बन्धी समाचार आफ्नो वेबसाइटमा प्रकाशित गरेको छ ।

रुसले विश्वमै पहिलो पटक कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरेको दाबी गरेको छ । त्यसबेला परीक्षणका लागि करिब ४० हजार स्वयम्सेवीलाई सहभागी गराइएको थियो ।