उर्लाबारी/ सवारी दुर्घटनाबाट दाया“ खुट्टा गुमाएका उर्लाबारी नगरपालिका–२ का वडाध्यक्ष राजन कँडेल सार्वजनिक सेवाको पहुँच लिन नसक्नेहरूको जीवनमा परिवर्तन ल्याउने जनप्रतिनिधि बनेका छन् ।

सत्ताईस वर्षको उमेरमा मोटरसाइकल दुर्घटनामा परी अशक्त भई राष्ट्रसेवकको सेवाबाट विमुख बनेका कँडेललाई वडाध्यक्षको पद समाज सेवा गर्न उचित साधक बनेको हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट उर्लाबारी नगरपालिकाको वडा नं. २ को वडाध्यक्षमा निर्वाचित भएका कँडेलको दिनचर्या नै जनसेवामा बित्ने गरेको छ ।

वडा कार्यालयमा कार्यालय समयबाहेकको समय विपन्न तथा अशक्त परिवारलाई सहयोग, वडामा हुँदै आएका विकास निर्माणका कार्यको नियमनलगायतका कार्यमा समय खर्चिने गरेको बताउँदै उनले आफ्नो खुट्टाका कारण भौतिक सहयोग गर्न कठिन भएकोले सहयोगीहरूबाट आर्थिक सङ्कलन गरी सहयोग पु¥याउँदै आएको वडाध्यक्ष कँडेलले बताए ।

पछिल्लो समय एक दनुवार परिवारलाई उपचारमा पु¥याएको आर्थिक सहयोग र राज्यको पहुँचमा नपुगेकी एक ज्येष्ठ नागरिकलाई नागरिकता दिलाएको विषयले चर्चामा छाएका छन् वडाध्यक्ष कँडेल । स्थानीय सिरुझार जङ्गलमा घाँस काट्ने क्रममा रुखबाट लडेर करङ भाँच्चिए पनि उपचार अभाव झेलिरहेका आफ्नै वडाका पूर्णबहादुर दनुवारलाई लाइफलाइन अस्पताल दमकको सम्पूर्ण उपचार खर्च वडाध्यक्ष कँडेलको अगुवाइमा सहयोगीहरूबाट ८१ हजार सङ्कलन गरी सहयोग गरेका छन् ।

यसैगरी वडाबासी मनमाया थापा मगरले ७३ वर्षको उमेरसम्म राज्यले आवश्यक प्रमाण अभावमा नागरिकता नदिएका कारण राज्यबाट पाउने सबै सेवासुविधाबाट बञ्चित बनेको अवस्थामा वडाध्यक्ष कँडेलको सक्रियतामा नागरिकता दिलाएर उदाहरणीय कार्य गरेका छन् भने लकडाउनको अवधिमा भारतबाट आएका वडाबासीको सेवाको लागि सङ्क्रमितलाई आफ्नै विद्यालयको बस प्रयोग गरी क्वारेण्टिनबाट घर लैजाने कार्यमा समेत अग्रपंक्तिमा उनी देखिएका छन् ।

वडाध्यक्ष कँडेलले गरेका दनुवारको उपचार र थापा मगरको नागरिकता दिलाउने कार्य दृष्टान्त मात्र हुन् । शारीरिक अशक्तता भए पनि इच्छाशक्ति पर्याप्त भएकोले वडामा सामाजिक, प्रशासनिक तथा मानवीय सेवाका क्षेत्रमा अहोरात्र कार्य गरी नगरमा कुशल जनप्रतिनिधिको रूपमा आफूलाई सपाङ्गको हैसियतभन्दा उच्चस्थानमा रहने इच्छा भएको बताएका छन् ।