विजयपुर/ धरान–९ गौतमपथमा ‘के एण्ड डी कलेक्सन’ नामको पसल सञ्चालन गर्ने देवी परियारले घरधनीले आफूलाई जानकारी नदिई पसल तोडफोड गरिदिएको आरोप लगाएकी छन् ।

उनले आइतबार पत्रकार सम्मेलन गर्दै धरान–९ का वडाध्यक्ष रत्नबहादुर कट्वालको संलग्नतामा कोठाको ताला फुटाएर आफ्ना सामानसमेत कब्जामा लिएको आरोप लगाइन् ।

गौतमपथको आशलक्ष्मी राईको घरमा उनले सञ्चालन गर्दै आएको सो पसलमा १० महिनादेखि ताला लागेको थियो । सञ्चालन भइरहेको सो पसलमा घरधनीका छोरा रोमनकुमार राईले सञ्चालकले लगाएको ताला फोडेर अर्को ताला लगाएको पत्रकार सम्मेलनमा सार्वजनिक विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा घरधनीले कुनै जानकारी नदिई वडा कार्यालयमा कोठा खाली गराई पाऊँ भनी निवेदन दिएको, घरबहाल लिँदा सम्झौता पनि वडाध्यक्षले गराइदिएको र दिनभरि सञ्चालनमा रहेको पसल राति वडाध्यक्षको मौखिक निर्देशनमा तोडफोड गरी अर्को ताला लगाइएको उल्लेख छ ।

त्यसैगरी पसल कब्जा भएपछि इलाका प्रहरी कार्यालयमा बोलाइएका घरधनीलाई अध्यक्ष कट्वालले आफू जिम्मा लिने भन्दै छुटाएको र उनी पीडककै पक्षमा लागेर उपमहानगरपालिकाको न्यायिक समितिलाई कोठा खाली गराइदिन भनी निवेदन दिएको आरोप लगाइएको छ । न्यायिक समिति पनि पीडकको पक्षमा लागेर कुनै क्षतिपूर्ति बिना कोठा खाली गराउन आदेश दिएको पसल सञ्चालिका परियारले बताइन् । उनले भनिन्, ‘वडाध्यक्षको हामी खोल्दैछौं भनेर वडा कार्यालयमा नै सूचना प्रकाशित गर्नु लगायतका क्रियाकलापले उनको संलग्नता रहेको पुष्टि हुन्छ ।’

उनले जनप्रतिनिधिको नाममा गुण्डागर्दीशैलीमा व्यक्तिको सम्पत्तिमाथि हस्तक्षेप गरेर अध्यक्ष जस्तो सार्वजनिक पदको दुरुपयोग गरेको समेत आरोप लगाएकी छन् । उनले भनिन्, ‘पसल सञ्चालन गर्दा वडाध्यक्षजस्तो व्यक्तिले नियमसङ्गत तरिकाले अगाडि बढ्नू भन्नुपर्नेमा मलाई फसाउनका लागि सम्झौतामा नै रोहवरमा बसेर सम्झौता गराए ।’

उनले आफ्ना पसलमा १८ लाख बराबरको सरसामान रहेको बताइन् । यस विषयमा वडाध्यक्ष कट्वालले ब्लाष्टकर्मीसँगको फोन सम्पर्कमा भने, ‘मैले अर्को ताला लगाउनू भनेको हो तर फोर्नु भनेको होइन । मलाई लगाएको आरोप गलत हो ।’

घरधनी रोमनकुमार राईले आफ्नो घरको कोठा खाली गर्न बारम्बार भने पनि खाली नगरेपछि न्यायसङ्गत रूपमा वडासँगको समन्वयमा काम गरेको बताए । उनले भने, ‘उनीहरू मेरो घरमा जबरजस्ती बस्न बखेडा झिकेका हुन् । त्यसमा मेरो केही गल्ती छैन ।’

धरान उपमहानगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक मञ्जु भण्डारीले घरधनीले असारसम्मको भाडा नलिने र त्यसपछि भाडा तिरेर एक वर्षसम्म पसल सञ्चालन गर्न दिने सहमति जनाए पनि पसल सञ्चालकले नमानेपछि वडामै पठाएको बताइन् । तर, पसल सञ्चालकले भने घरधनीले घरपरिवार सल्लाह गर्नुपर्ने भन्दै न्याययिक समितिले गराएको सहमति नमानेको बताएका छन् ।