इटहरी/ पूर्वको सबैभन्दा व्यस्त र छोटो समयमा विस्तारित भएको शहरको नाम सोच्नु परे इटहरी उपमहानगरलाई नसम्झिने कमै होलान् । आफ्नो पहिचान बनाइसकेको व्यस्त उपमहानगरमा सार्वजनिक शौचालय छैन भन्दा सबैले नपत्याउन सक्छन् । तर, पत्याउनै पर्छ ।

उपमहानगरजस्तो दर्जा पाएको इटहरी शहरमा सार्वजनिक शौचालय नै नहनु भनेको घरदेखि बजारमा निस्केका सर्वसाधारणले लाज पचाएर भए पनि दिसापिसाब जहाँ पनि गर्दा हुन्छ भन्ने अर्थ लाग्न सक्छ । पुरुष भए बिजुलीको खम्बा वा कुनै भित्तामा पिसाब गर्नुको विकल्प छैन र महिला भए दिसापिसाब थामेर बस्ने ।

शौचालय व्यक्तिगत र सामाजिक स्वास्थ्य, दुर्गन्ध, प्रदूषणजस्ता सरसफाइसँग जोडिएको विषय हो । इटहरी उपमहानगरका मेयर, उपमेयर वा त्यहाँ कार्यरत कर्मचारी, अन्य जनप्रतिनिधिहरूको विदेश भ्रमण भएको बेला कुनै पत्रकारले वा वा दाताले ‘तिम्रो उपमहानगरपालिकामा सार्वजनिक शौचालयहरू छन् कि छैनन्’ भनेर प्रश्न गरेमा ‘छैन’ भनेर जवाफ दिँदा इटहरीको मात्र बेइजत नभएर नेपालकै बेइजत हुने अवस्था छ । अग्ला–अग्ला भवन, टावर, तारे होटल, अर्बौं रुपैयाँको कारोबार, सवारी साधनको लस्कर, बढ्दो शहरीकरणका बीच इटहरीले लामो समयदेखि सार्वजनिक शौचालयको अभाव बेर्होदै आएको छ ।

इटहरीमा किन बनेन सार्वजनिक शौचालय ? उपमहानगरसँग आर्थिक अभाव त पक्कै होइन । तथापि यो वर्ष पनि सार्वजनिक शौचालय नपाउने भएको छ इटहरीले । उपमहानगरमा सार्वजनिक शौचालय नभएपछि उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेलले आफूहरू शौचालय बनाउन तयार रहे पनि ठाउँ अभावको समस्या रहेको बताए ।

एक वर्षअगाडि नै इटहरी उपमहानगरपालिकालाई शौचालय बनाइदिने वाचा गरेर लिखितरूपमै जग्गा उपलब्ध गराइदिन माग गरे पनि उपमहानगरले जग्गा दिन नसक्दा अहिलेसम्म इटहरी शौचालयविहीन बनेको अध्यक्ष पौडेलले बताए । उनले भने, ‘हामीले सार्वजनिक शौचालय बनाइदिन्छौं । जग्गा उपलब्ध गराऊ भनेर उपमहानगरमा बारम्बार लिखितरूपमा माग गरे पनि कसैले वास्तै गरेनन् । अनि कसरी बन्छ त सार्वजनिक शौचालय ?’

व्यस्त शहरमा सार्वजनिक शौचालय नहुनुको पीडा उपमहानगरका जनप्रतिनिधिहरूले भन्दा बजार भर्न आएका स्थानीय सर्वसाधारण र बाहिरबाट आएकाहरूले भोग्नु पर्छ । पर्यटनको चर्चा गर्दा पनि शौचालय अनिवार्य शर्त हो । शौचालय बिना पर्यटनको चर्चा गर्नु इटहरी उपमहानगरपालिकाको छलकपट मात्र सावित भएको छ ।

उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष पौडेलले इटहरीको मुख्य चोक आसपास दुईवटा शौचालय अत्यावश्यक भएको बताए । उनले भने, ‘इटहरीको मुख्य चोकमा शौचालय नभएकै कारण सर्वसाधारणले दिसापिसाब गर्न नपाउँदा सास्ती बेहोर्नु परेको छ । अत्यधिक भीडभाड हुने इटहरी चौकमा सार्वजनिक शौचालय नहुँदा शौच गर्नकै लागि अर्काको गाली खाँदै चिया पसल छिर्ने बाध्यता हँुदै आएको छ ।’

व्यापारिक ‘हब’ इटहरीमा दिसापिसाब गर्ने ठाउँ अभावले लाज पचाएर होटल जानुपर्ने अनि चिया वा नास्ता खाने बहाना गर्नुपर्ने बाध्यता हुँदै आएको तर, शौचालय निर्माणमा उपमहानगरले आफूहरूलाई समन्वय नगरेको अध्यक्ष पौडेलको भनाइ छ ।

उवासङ्घका महासचिव पिताम्वर पोखरेलले उपमहानगरले ठाउँ मात्र उपलब्ध गराइदिएको भए अहिलेसम्म शौचालय निर्माण पूरा हुने बताए । उनका अनुसार उवासङ्घले धेरै अगाडिदेखि सार्वजनिक शौचालयका लागि जग्गा माग गर्दै आएको हो । उनले भने, ‘प्रत्येक वर्ष शौचालय बनाउने कुरा गरे पनि अहिलेसम्म वास्ता गरेका छैनन् । शौचालय नहुँदा दैनिक हजारौं शौच गर्न नपाएर समस्यामा पर्ने गरेका छन् ।’

घुम्ती शौचालय थन्कियो
इटहरी आसपासका क्षेत्रमा सार्वजनिक शौचालय नभएपछि इटहरी चोकमा सुरु भएको घुम्ती शौचालय विगत ३ वर्षदेखि थन्किएको छ । १० लाख रुपैयाँको लागतमा निर्माण भएको घुम्ती शौचालय बन्द भएको केही समयपछि नवनिर्वाचित जनप्रतिनिधिहरूको प्रथम बैठकबाट फेरि सञ्चालनमा ल्याउने जनाए पनि ३ वर्ष पुग्दा पनि सुरु भएको छैन ।

जिल्ला विकास समिति सुनसरी, इटहरी उपमहानगरपालिका, लुमन्ती र सीमएन नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा बनेको घुम्ती शौचालय इटहरी उपमहानगरपालिका परिसरमा थन्किएको छ ।

एक वर्षअगाडि सुरु भएको शौचालय बनेन
एक वर्षअगाडि इटहरीमा अत्याधुनिक सार्वजनिक शौचालय बनाउने निर्णय अनुसारको काम पनि पूरा हुन सकेन । उपमहानगरकै नजिक बनाउन सुरु गरेको शौचालयको काम लकडाउनको कारण रोकिएको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाका इञ्जिनियर जीवन घिमिरेले लकडाउनको कारण रोकिएको शौचालयको काम पुनः सुचारु हुने जनाए । शौचालयअगाडि पानीको फोहोरासहित फूलै फूलको गार्डेन पनि हुने इञ्जिनियर घिमिरेको भनाइ थियो । ८० लाखको लागतमा निर्माण सुरु भएको यो शौचालय अपाङ्गमैत्री हुने इटहरी उपमहानगरपालिकाले जनाएको थियो । तर, एक वर्ष पुग्न लाग्दा जग खन्ने काम मात्र भएको छ ।