भद्रपुर । गण स्थापना भएको १३ वर्षमा सशस्त्र प्रहरी बल गण नम्बर २ झापामा खाना खाने भान्सा घर निर्माण भएको छ ।

आइतबारबाट नवनिर्मित भान्सा घर (मेस) सुरु भयो । यो सँगै सो परिसरमा जवान र महिला ब्यारेक समेत निर्माण गरिएको छ । तीन वटै भवनको सशस्त्र प्रहरी बल नेपाल प्रदेश १ बराह बाहिनीका डिआइजी वंशीराज दाहालले आइतबार विहान उद्घाटन गरेका छन् ।

प्रहरीले लगाएको बर्दी जागीर पछि पनि नाम जोडिने भएकोले जीवनभर दाग लगाउने काम नगर्न उद्घाटन पछि डिआइजी दाहालले निर्देशन दिएका थिए । हाल कोरोना महामारीका कारण सीमा क्षेत्रमा त्रिपालको सहायताले २४ सै घण्टा ड्युटी गरिरहेका कर्मचारीको समस्या विभागले मूल्याङ्कन गर्ने उनले जनाए । विस्तारै प्रहरी सुविधा तर्फ लागेकोले सोही बमोजिम काम गर्न उनले आग्रह गरे । सीमा क्षेत्रमा थप मद्दतका लागि पहाड तथा तराइका जिल्लाबाट ल्याईएका कर्मचारीलाई विस्तारै सम्बन्धित जिल्लामा फिर्ता पठाइने भएकाले अहिले नआत्तिन उनले सुझाए ।

सङ्घीय सरकारबाट आर्थिक वर्ष ०७५/७६ र ६७/७७ बाट प्राप्त भएको बजेटबाट ३१ लाख ८५ हजार एक सय २० रुपैयाँको लागतमा महिला ब्यारेक, ४० लाख २४ हजार ८ सय ८ रुपैयाँको लागतमा जवान ब्यारेक र १९ लाख ७५ हजार १ सय ४२ रुपैयाँमा मेस गरी ९१ लाख ७५ हजार ७० रुपैयाँको लागतमा तीनवटा भवन निर्माण गरिएको गणका एसपी रमेशकुमार पाण्डेले बताए । कोरोना महामारीमा काम गर्ने सिलसिलामा कुनै प्रहरीलाई आइसोलेसनमा बस्न पर्ने आवश्यक्ता भएमा सुविधा सम्पन्न सौचालयसहितको १२ शैय्याको भवन समेत प्रयोग गर्ने गरी व्यवस्था गरिएको उनले जनाए ।

वि.सं. २०७४ सालमा चन्द्रगढी स्थित जिल्ला प्रशासन कार्यालयको परिसरमा फुसको छानोमा बस्दै आएका सशस्त्र प्रहरी विस्तारै सुविधा सम्पन्न भवनमा परिणत हुन थालेका छन् ।