विराटनगर । विश्वभरी महामारीको रुपमा फैलिएको कारोना भाइरसको संक्रमण फैलिन नदिन विभिन्न किसिमका मास्क प्रयोग भईरहेका छन् ।

विराटनगरका युवा व्यवसायी दिनेश ठाकुरले ९९ प्रतिशत किटाणु फिल्टर गर्ने दाबी सहित ‘फ्लोरा मास्क’ बजारमा ल्याएका छन् ।

धुवा, धुलो र संक्रमण रोक्न ‘मेल्ट ब्लाउन भएको मास्क’ को आवश्यक पर्दछ । सोही बस्तुहरू प्रयोग गरिएको फ्लोरा मास्क बजारमा ल्याएको युवा व्यवसायी ठाकुरले जानकारी दिए । ‘अहिले बजारमा धेरै प्रकारका मास्कहरू आएका छन् । सबै मास्कमा तीन लेयर भएपनि मेल्ट ब्लाउन प्रयोग गरिएको हुदैन । जसले गर्दा साधारण मास्कले धुवाँ, धुलो त रोक्छ, तर संक्रमण रोक्छ भन्ने छैन,’ उनले भने, ‘तीन लेयर मध्ये बिचको भागमा मेल्ट ब्लाउन प्रयोग गरिएकोले फ्लोरा मास्कले ९९ प्रतिशतसम्म किटाणु फिल्टर गर्दछ ।’

त्यसैले संक्रमण रोक्ने फ्लोरा मास्क बजारमा ल्याएको उनले बताए । फ्लोरा मास्क उच्च गुणस्तरीय रहेको उनले दाबी गरेका छन् । सो मास्कको बजार मूल्य प्रति गोटा ५ रुपैयाँ मात्र पर्दछ ।

औषधी व्यवसायी समेत रहेका ठाकुरले चाइनाबाट आयात गरेको अत्याधुनिक स्वचालित उपकरणबाट फ्लोरा मास्क उत्पादन गर्दछन् । दैनिक २५ देखि ३० हजार मास्क उत्पादन भइरहेको उनले जानकारी दिए । करिब १ करोड लागतमा मास्क उद्योग संचालनमा ल्याएको ठाकुरले एक दर्जनलाई रोजगारी पनि दिएका छन् ।