भद्रपुर/ झापाका दक्षिणी गाउँपालिकाका दुई विद्यालयमा अझै क्वारेण्टिन हट्न नसक्दा अध्यापन अन्यौल बन्दै गएको छ ।

झापाको कचनकवल–६ का लक्ष्मी मावि र पथरिया माविमा अझै क्वारेण्टिन कायमै रहेको छ । सरकारले यसबीचमा कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई समदूरी कायम गरेर अध्यापन गराउने वैकल्पिक व्यवस्था गर्ने तयारी गरिरहँदा क्वारेण्टिनका कारण यी विद्यालयमा समस्या आएको हो । विद्यालयमा स्थापना गरिएको क्वारेण्टिन त्यहाँबाट अन्यत्र नसार्दा विद्यार्थीलाई प्रत्यक्ष सिकाइ सहजीकरण गराउन शिक्षकलाई समस्या परेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ स्वीकृत गरेसँगै कचनकवल गाउँपालिकाले असोज १ गतेदेखि गाउँपालिकाभित्र सञ्चालित सामुदायिक तथा निजी विद्यालयहरूले कक्षा ४ देखि १२ सम्म सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

गाउँपालिकाभित्रका दुई वटा विद्यालयका विद्यार्थी भने त्यसबाट बञ्चित हुनु परेको सम्बन्धित विद्यालयका शिक्षकहरूले गुनासो गरेका छन् । जिल्लामै कोरोनाको इपिसेण्टर बनेको गाउँपालिकामा त्यस बेला ६ वटा विद्यालयमा क्वारेण्टिन स्थापना गरिएको थियो । चारवटा विद्यालयको क्वारेण्टिन हटाइसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए । गाउँपालिकाभित्र क्वारेण्टिन बनाउने अन्य वैकल्पिक व्यवस्था नहुँदा दुई वटा विद्यालयमै क्वारेण्टिन कायम राखिएको उनको भनाइ छ ।

विद्यालयमा क्वारेण्टिन रहेकोले विद्यार्थीहरू गेटसम्म आउने र फर्किने गरेको विद्यालयका शिक्षक रत्नकुमार बुढाथोकीले बताए । अहिले व्यक्तिको घरमा एउटा कोठा लिएर विद्यालयले प्रशासनिक काम गरिरहेको उनले बताए । सरकारले विद्यालयबाट क्वारेण्टिन हटाउने भनी निर्देशन दिए पनि गाउँपालिकाले विविध कारण देखाउँदै विद्यालयबाट क्वारेण्टिन नहटाउँदा शिक्षक तथा विद्यार्थी दुवैले समस्या भोग्नुपरेको सोही विद्यालयका शिक्षक होमनाथ अर्यालले बताए । समयमै विद्यार्थी र अभिभावकलाई उचित परामर्श दिन नसक्दा त्यसको फाइदा भने निजी बोर्डिङ स्कुलहरूले उठाइरहेको उनको भनाइ छ ।

छिटोभन्दा छिटो वैकल्पिक व्यवस्थापन गरी विद्यालयको क्वारेण्टिन अन्यत्र सार्न विद्यालयका प्रधानाध्यापक राजु बुढाथोकीले गाउँपालिकासमक्ष आग्रह गरेका छन् । गाउँपालिकाभित्रका विद्यालय खुलाउँदा सबै विद्यालय खुलाउने व्यवस्थापन नमिलाएका कारण पठन–पाठनमा एकरूपता हुन नसकेको उनको भनाइ छ । विद्यालयमा प्रत्यक्ष सिकाइ सहजीकरण सुरु भइसकेको पथरिया माविका प्रधानाध्यापक कृष्णकुमार शर्माले बताए । विद्यालयको क्वारेण्टिन नहटाएसम्म विद्यार्थी बोलाउने अवस्था नभएको उनको भनाइ छ ।

सरकारले विद्यालयबाट क्वारेण्टिन हटाउने निर्णय गरेसँगै गाउँपालिकाले पनि हटाउने निर्णय गरिसकेको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख छवि बस्नेतले जानकारी दिए । दुई वटा विद्यालयको क्वारेण्टिन हटाउने विषयमा गाउँपालिकासँग कुरा गर्ने उनको भनाइ छ । विद्यालयको क्वारेण्टिन हटाई लक्ष्मी मावि क्याम्पसको निर्माणाधीन भवनमा क्वारेण्टिन बनाउने बारेमा गाउँपालिकाले निर्णय गरिसकेको स्वास्थ्य शाखा प्रमुख यादवले बताए । असोज २० गतेभित्र क्वारेण्टिन व्यवस्थापन गरी ५० देखि ६० बेड क्षमताको क्वारेण्टिन बनाउने काम तीव्र गतिमा भइरहेको उनको भनाइ छ । हाल लक्ष्मी माविमा तीन जना र पथरिया माविमा २६ जना बसेका छन् । उनीहरूको स्वाब सङ्कलन भइसकेको उनको भनाइ छ ।