विजयपुर । पर्यटन व्यवसायीहरुको तानातानका कारण नेपाल पर्यटन बोर्डको प्रादेशिक कार्यालय प्रदेश १ को दुई स्थानमा स्थापना हुने भएको छ ।

बोर्डले धरान उपमहानगरसँग समझदारी पत्रमा हस्ताक्षर गरेको भोलिपल्ट विराटनगरमा पनि स्थापना गर्ने भएको छ ।
धरान उपमहानगरका पुर्व नगर प्रमुख तथा होटल व्यवसायी धरान तदर्थ समितिका अध्यक्ष मनोज मेन्याङ्बो धरानलाई पर्यटनको हब बनाउन प्रदेश सरकार नीति लिईरहेको बेला पर्यटन बोर्डले प्रदेश नं. १ को प्रादेशिक कार्यालय धरानमा स्थापना गर्ने कुरा राम्रो भएपनि अहिले धरान र विराटनगरको तानातान भएको बताए । उनले भने, ‘त्यस्तो हुनु ठिक होइन कुनै पनि कार्यालय स्थापना गर्न त्यसको औचित्य हुनुपर्छ ।’

पर्यटन व्यवासयी एलिना मगरले भनिन्, ‘पर्यटन बोर्डले यथार्थमा पुगेर निर्णय गरेछ भन्ने लागेको थियो । धरान पर्यटन गन्तव्य मात्र होइन, पर्यटनको हव (केन्द्र) हो । हामीले प्रदेशका सबै स्थानलाई समेट्न सक्छौ ।’ उनले भनिन् ‘तर अहिले विराटनगरमा पो स्थापनाको लागि सम्झौता भयो भन्ने सुनियो ।’ उनले त्यसो हुँदा सान्दर्भिक नहुने बताइन । उनले थपिन्, ‘विराटनगर औधोगिक क्षेत्र हो । पर्यटन क्षेत्र होईन ।’

गत विहिबार धरान उपमहानगरपालिका बोर्डविच प्रादेशिक कार्यालय स्थापनाको सहमति पत्रमा हस्ताक्षर भएको थियो । शुक्रबार बोर्डले उद्योग, पर्यटन, वन तथा वातावरण प्रदेश मन्त्रालयसँग पनि कार्यालय स्थापना गर्ने सम्बन्ध हस्ताक्षर गरेको छ ।
समझदारी पत्रमा बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी र निमित्त निर्देशक लक्ष्मण गौतम र मन्त्रालयका तर्फबाट सचिव मेघनाथ काफ्लेले हस्ताक्षर गरेको बोर्डका प्रमुख रेग्मीले जानकारी दिए । धरानमा उपमहानगरमा पनि बोर्डका तर्फबाट कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी र निमित्त निर्देशक लक्ष्मण गौतम र उपमहानगरको तर्फबाट नगर प्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डरी हस्ताक्षर गरेका थिए ।

बोर्डले धरान उपमहानगरसँग प्रादेशिक कार्यालयमा २ जना कर्मचारी रहने गरि स्थापना भएको भोलि पल्टै प्रदेश नं. १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग सक्झौता गरेको होे । स्थापना हुने भएपछि दुई कार्यालयमा एकएक कर्मचारी रहने भएका छन ।

धरानमा सम्झौता भएको भोलिपल्टै मन्त्रालयमा पनि स्थापनाका लागि सम्झौता भएपछि धरानका पर्यटन व्यवसायी यहाँको स्थापना हुने सूचना केन्द्र मात्र हो कि भन्न थालेका छन ।

यस विषयमा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले ब्लाष्टकर्मीसँगको फोन सम्पर्कमा भने, ‘सूचना केन्द्र नाकामा मात्र हुन्छ । विराटनगरको नाकामा पनि सूचना केन्द्र स्थापना गर्छौ । प्रदेश नं. १ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा र धरान उपमहानरमा एउटै तहको कार्यालय स्थापना हुन्छ । कर्मचारी दुइजना रहने भनेका थियौ । २ ठाउँमा स्थापना गरेपछि एक एक जना कर्मचारी हुन्छन ।’

उनले मन्त्रालयमा स्थापना गर्दा नीति निर्माण गर्ने निकायसँग सम्बन्ध रहने भएकोले काम गर्न सहज हुने भएकाले विराटनगरमा स्थापना गरिने बताए । धरान पर्यटनको हव (केन्द्र) भएको र व्यवसायीको माग साथै नगर प्रमुख पनि सकारात्मक भएकोले धरानमा पनि स्थापना गरिने उनले बताए । पर्यटन बोर्डका प्रादेशिक कार्यालयका लागि आवश्यक भौतिक संरचना भने मन्त्रालय र उपमहानगरले नै गर्ने गरि हस्ताक्षर भएको निर्देशक रेग्मीले जानकारी दिए ।

धरान र विराटगनरमा बोर्डको कार्यालय रहने भएपछि कर्मचारी भने एक÷एक जना हुने बोर्डका कार्यकारी प्रमुख रेग्मीले जानकारी दिए । उनले नेपालका सबै प्रदेशमा बोर्डको प्रादेशिक कार्यालय स्थापना गर्ने बताए ।