विजयपुर । लगातारको वर्षाले धरान उपमहानगर वडा नं. १४ को बाबाधाम मार्ग स्थित आइतबारे टोल, करमगाछीमा शुक्रबार पहिरो जाँदा १ घर परिवार विस्थापित भएका छन् ।

पहिरोका कारण १० घर उच्च जोखिम परेका छन । घर भत्किएपछि ओम प्रकाश राई हिजैदेखि घर छोडेर अन्यन्त्र बस्न थालेका छन । वडा नं. १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईका अनुसार शेरबहादुर राई, रामबहादुर तामाङ र देवेन्द्र राइको परिवार विस्थापित हुने अवस्थामा रहेका छन ।

त्यस्तै बालकुमार राई, चुङचुङ लामा, खड्गबहादुर गिरी, विमला श्रेष्ठ, बिर बहादुर तामाङ, कुमार र राम राईका सहित ७ घर उच्च जोखिममा रहेको स्थानीय फुलमाया राईले बताईन । अध्यक्ष भट्टराईले जोखिममा रहेकालाई सुरक्षित स्थानमा सार्न लागिएको बताए । उनले केहि समयका लागि स्कुलमा भएपनि लगेर राख्ने र खाने व्यवस्था पनि गर्ने बताए । वडा कार्यालयको समन्वयमा ५ वटा पाल लगेर लगाएको अध्यक्ष भट्टराईले बताए । उनले अब थप पहिरो गएमा सडक तल्लोपटि पनि क्षति हुन बताए ।

स्थानीयवासीले पानी परिरह्यो भने बाहिर नै बस्नुपर्ने अवस्था रहेको बताएका छन । पहिरोका कारण बाटो पनि अबरुद्ध बनेको छ । बाटो अहिले नै खोल्दा थप जोखिम बढ्ने भएकोले नखोलिएको अध्यक्ष भट्टराईले बताए ।

अध्यक्ष भट्टराईले विपद व्यवस्थापनका प्राविधिकलाई देखाउँदा पानी परिरहेको समयमा केहि गर्न नसक्ने बताएको जानकारी दिए । उनले अव्यवस्थित वस्तीमा प्राविधिक मुल्याङ्कन नगरि घर बनाउँदा बोझ थाम्न नसकेर पहिरो गएको हुन सक्ने बताए । ‘घर बनाउँदा नक्सा पास गरेर बनाउन मिल्ने/नमिल्ने बुझेर बनाएको भए क्षति हुने थिएन ।’ उनले भने । जनताको भावनामा खेलबाड नगर्ने र दिर्घकालिन समस्या समाधान गर्ने हो भने स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले पहल गरेर वस्ती स्थान्तरण गर्नु पर्ने अवस्था रहेको उनले बताए ।