विराटनगर । मोरङ उर्लाबारी नगरपालिका – २ डुम्रेकी मनमाया थापा मगरले ७३ वर्षको वृद्धा उमेरमा नागरिकता प्राप्त गरेकी छिन् ।
आर्थिक अवस्था नाजुक रहेको मगरको उर्लाबारी २ का वडाअध्यक्ष राजन कुमार कडेलको पहलमा वृद्धाले नागरिकता पाएकी हुन् ।
कपाल सतै फुलेर अनुहार चाउरी भइसक्दा पनि वृद्धाले नागरिकता नपाएको ब्लाष्टसँग गुनासो पोखेपछि २८ भदौमा ‘७३ वर्षमा पनि नागरिकताविहीन’ शिर्षकमा प्रथम पृष्ठमा समाचार प्रकाशित भएको थियो । उक्त समाचार प्रकाशित भएपछि वडाअध्यक्ष कडेलले पहल गरेर वृद्धा मगरको घरमा पुगेर नागरिकता हस्तान्तरण गरेका छन् । वृद्धा उमेरमा नागरिकता पाएपछि उनी हर्षित छिन् ।

‘वर्षौदेखिको सपना अहिले आएर साकार भयो,’ नागरिकता पाएपछि ब्लाष्टसँगको टेलिफोन सम्र्पकमा मनमायाले भनिन, ‘वृद्धा उमेरमा राज्यले पहिचान गराइदिएको छ । मर्ने बेलामा नागरिता पाएर मर्ने इच्छा थियो । त्यो इच्छा अहिले आएर पूरा भयो ।’ उनले नागरिकता बनाउन पहल गरिदिने सबैलाई धन्यवाद दिइन् ।

‘नागरिकता बनाउन प्रशासन कार्यालय तिर धेरै पटक धाए । बसाइसराइ नभएको, माइती पक्षको आफन्तको नागरिकता नभएको भन्दै फर्काइ दिने गरेका थिए,’ विगतमा पाएको दुःखेसो सुनाउँदै उनले भनिन्, ‘अहिले स्थानिय सरकार भएको अनुभति भयो । यो अवस्था भएर नागरिता पाए । साह्रै खुसी भएको छु ।’

मनमाया ७७ वर्षिय श्रीमान पदमबहादुर मगर र जेठी छोरीको साथमा बसोवास गर्दै आएकी छिन् । आर्थिक अवस्था नाजुक रहेको वृद्धा दम्पती नागरिकता पाएपछि राज्यले दिने वृद्धा भत्ताबाट गुजरा चलाउन र औषधी उपचारमा सहज हुने उनीहरू बताउँछन् ।
उर्लाबारी नगरपालिका २ का वडाअध्यक्ष राजन कुमार कडेलले आफ्नो वडा भित्र बसोवास गर्ने कोही पनि नागरिकलाई नागरिकता बिहीन हुन नदिने बताए ।

उनले यसअघि पनि वडा भित्रका एक जना वृद्धाको नागरिकता दिलाइदिएको बताए । ‘नेपालमै जन्मेर पनि राज्यले प्रदान गर्दै आएको सेवा सुविधा बाट वडा भित्रका कसैलाई पनि बन्चित हुनु दिने छुइन,’ वडाअध्यक्ष कडेलले भने, ‘स्थानिय सरकार भएको जनतालाई अनुभुति दिलाउन यसरी सधैभरी लागि पर्नेछु ।’