विजयपुर । धरान उपमहानगरपालिकामा धरान मेडिकल विद्यार्थी समुहबाट सञ्चालित एक कोरोना संक्रमित, एक स्वास्थ्यकर्मी अभियान प्रभावकारी बन्दै आएको छ ।
हातेमालो फाउण्डेसनको सहयोगमा सञ्चालित कार्यक्रम उपमहानगरका सबै वडाहरुमा पुगेर ८३ जना सङ्क्रमितलाई सेवा दिइसकेका छन । मेडिकल विषयमा अध्ययनरत विद्यार्थीहरुको ३० जनाको यो समुहले संक्रमितलाई सेवा दिइरहेका छन ।
उनीहरुले आवश्यकता अनुसार भिडियो, फोन र विरामी भएको स्थानमै पुगेर सेवा दिइरहेको समुहका सदस्य डा. शसाङ्क शाक्यले जानकारी दिए । उनले केहि सङ्क्रमित निको भइसकेको र केहि निको हुने क्रममा रहेको बताए । विरामीहरुले पनि स्वास्थ्यकर्मी घरमै आउँदा खुसि हुँदै केहि सुझाव पनि दिने गरेका छन । कतिपय सङ्क्रमितलाई समाजले होम आइसोलेसनमा बस्न नदिइरहेको अवस्थामा त्यहाँ गएर उनीहरुलाई परामर्श गरी बस्ने वातावरण बनाउने काम गरेको पनि बताए ।
उपमहानगर महाशाखा प्रमुख उमेश मेहेताका अनुसार ८४ जना होम आइसोलेसनमा रहेका छन । ५६ जना अस्पतालमा उपचारत छन । होम आइसोलेसनबाट ४८ जना निको भएका छन । धरानमा अहिलेसम्म ७ जनाको मृत्यू भएको छ । अहिलेसम्म धरानको ४ हजार २ सय १ जनाको स्वाब परिक्षण गरिएको थियो । त्यसमध्ये २ जनाको मृत्यू भएपछि स्वाब परिक्षण गरिएको थियो । स्वाब परिक्षणको १०.२ प्रतिशतको पिसिआर रिपार्ट पोजेटिभ आएको महाशाखा प्रमुख मेहेताले बताए ।