विराटनगर । विराटनगर – ९ पुरानो गुद्रीमा प्याजको कालोबारी गरेको आरोपमा पक्राउ गरेका विराटनगरका दुई जना व्यापारी ८० हजार रुपैयाँ धरौटी रकम बुझाएर रिहा भएका छन् ।

पक्राउ परेका विराटनगर महानगरपालिका ९ का ३८ वर्षीय सञ्जयकुमार गुप्ता र सोही ठाउँका २९ वर्षीय मुकेशकुमार सहनी जनही ४०÷४० हजार रुपैयाँ धरौटी रकम बुझाएर शुक्रबार रिहा भएका हुन् ।

भारतले निर्यात बन्द गरेको बहानामा मूल्य अत्याधिक बढाएर प्याजको कालोबजारी गरेको आरोपमा विराटनगर ९ पुरानो गुद्रीमा तरकारीको व्यापार गर्दै आएका उनीहरूलाई मोरङ प्रहरीले स्ट्रिङ अप्रेसनमा असोज २ गते पक्राउ गरेको थियो । प्रहरीले ४ असोजमा जिल्ला प्रशासन कार्यालय मोरङमा कालोबजारी र केही अन्य सामाजिक अपराध तथा सजाय ऐन अन्र्तगत मुद्दामा सात दिनको म्याद थप गरि अनुसन्धान प्रतिवेदन शुक्रबार बुझाएको थियो । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाको इजालशले पक्राउ परेका दुवै जनालई जनही ४०÷४० हजार धरौटीमा छोडन आदेश दिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । प्रशासनले तोकेको धरौटी रकम सोही दिन बुझाएर उनीहरू रिहा भएको मोरङ प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुप्ता र सहनीले ४१ रुपैयाँमा खरिद गरेर ९५ रुपैयाँमा प्याज विक्री गरेको मोरङ प्रहरीले गरेको स्ट्रिङ अप्रेसनमा फेला पारेको थियो । पक्राउ परेका गुप्ताले विजयकुमार योगेस पसल र मुकेशले तनिसा ट्रेडर्स पसलबाट खरिद मूल्य भन्दा दोब्बरमा प्याजको विक्री वितरण गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।