धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले आन्दाेलनमा उत्रिएका छन् । आफ्ना मागहरु पेश गरे पनि उपकुलपतिले बेवास्ता गरेको भन्दैं बिहीबारदेखि आन्दोलन शुरु गरेको छ ।

बिहीबार बिहान उपकुलपति कार्यालय अगाडी फ्याकल्टीहरु भेला भएर केही समय शान्तिपुर्ण प्रर्दशन गरे । शुक्रबार पनि उपकुलपतिको कार्यालय अगाडी प्रर्दशन गरिने कार्यक्रम रहेको छ ।  

उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी व्यापारीहरुको सेटिङमा कमाउ धन्दामा लागेर चिकित्सकहरुका सामान्य मागसमेत बेवास्ता गरे पछि चिकित्सक तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजको नेतृत्वमा आन्दोलन थालिएको हो ।

सिनेट बैठकबाट कर्मचारीको तलव वृद्धि र आन्तरिक बढुवाका लागि निर्णय गरेको थियो । तर निर्णय भएको महिनौ वितिसक्दा पनि उपकुलपतिले निर्णय कार्यन्वयन नगराएको समाजका अध्यक्ष डा. विष्णु पोखरेलले बताए । ‘तलब वृद्धिको निर्णय भए पनि बढेको तलब पाएको छैन भने बढुवा प्रक्रिया करिब अढाई बर्षदेखि अवरुद्ध भएको छ ।’–उनले भने । शुक्रबार प्रतिकात्मक मौनधारण कार्यक्रम रहेको अध्यक्ष पोखरेलले बताएका छन् ।

'आफुलाई अनुकुल हुने व्यक्तिको करारमा नियुक्ति गर्न मिल्ने तर बषौंदेखि बढुवा रोकिएको चिकित्सकहरुको माग पुरा गर्न नसक्ने प्रतिष्ठानको नेतृत्वप्रति हामी सन्तुष्ट छैनौं । राजनीतिक दलहरुले उठाएका माग तुरुन्त पुरा हुने हामीले पेसागत हित र प्रतिष्ठानको हितका लागि उठाएको माग किन पुरा नहुने नेतृत्वलाई हाम्रो यही प्रश्न छ ।–पाेखरेलले भने । प्रतिष्ठानको नियमित कामलाई असर नपुग्ने गरि रचनात्मक तरिकाले विरोधमा उत्रिएको उनलेे बताए । माग पुरा नभएसम्म आफुहरु विरोधका कार्यक्रम जारी राख्ने उनको भनाई छ ।

यस अघि जुनियर चिकित्सकहरुलाई पनि कोभिड अस्पतालमा गुणस्तरहिन खाना दिएकोभन्दैं आन्दोलन गदैं आएका थिए । यस्तै नर्सहरुलाई प्रयाप्त ग्लोव, माक्सलगायतका सुरक्षा सामाग्री नदिएको भन्दैं आन्दोलन गरेका थिए । उनीहरुको पनि सामान्य मागलाईसमेत प्रतिष्ठान प्रशासनले पुरा गर्न सकेको छैन ।