धरान । अब घरमै बसेर बैंकबाट ऋण पाईने भएको छ । नबिल बैंकले मोबाईल बैंकिङ एप्स मार्फत ऋण दिने योजना ल्याएको हो ।

यो योजना अन्तर्गत नबिल बैंकको स्मार्टबैंक प्रयोगकर्ताले घरमै बसेर ऋण आवेदन गर्न र ऋण प्राप्त गर्न सक्नेछन् ।

नबिल स्मार्टबैंकको विश्लेषणात्मक प्रबिधिको महत्वपूर्ण भूमिका रहेको यस सेवामार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा ऋण उपलब्ध गराइने बताइएको छ ।

यो सुबिधा लिन नबिलको स्मार्टबैंक प्रयोगकर्ता हुनुपर्ने र यस प्रकारको ऋण छोटो अवधीका लागि उपलब्ध रहने नबिल बैंकले जनाएको छ । नबिलका तलबी खाताबाहक ग्राहकहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

नबिल बैंक धरान शाखाका प्रबन्धक भरत थापाले यसका लागि कुनै कागजी प्रक्रिया गर्नु नपर्ने तथा कुनैपनि धितो समेत आवश्यकता नपर्ने बताए ।

हाल १ सय १९ शाखा तथा १ सय ८४ ओटा एटिएम सञ्जाल सञ्चालन गर्दै आएको नबिलको यो योजना नेपालमै पहिलो रहेको समेत थापाको दाबी छ ।