धरान । पीसीआरका लागि चाहिने अतिआवश्यकीय किट अभाव भएसँगै शुल्क तिर्नुपर्ने प्रावधान बनाइएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सरकारले उपलब्ध गराउँदै आएको किट उपलब्ध नगराएको भन्दै अब न्यूनतम २ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने जनाएको छ ।

प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशंकर साहले एक विज्ञप्ति जारी गर्दै अब प्रतिष्ठानमै कार्यरत कर्मचारी, शिक्षक तथा चिकित्सककै हकमा पनि सम्बन्धित क्षेत्रको चिकित्सकले सिफारिस गरेको हकमा मात्रै निःशुल्क हुने भएको हो ।

स्थानीय तथा प्रदेश सरकारबाट आएका स्वाबको हकमा पनि शुल्क लाग्ने बताइएको छ । केही समय अघि ब्लाष्ट दैनिकले प्रदेश १ मा किट अभाव भएको विषयमा समाचार प्रकाशित गरेको थियो । किट तथा रिएजेन्टलगायतका सामग्री अभाव भएका कारणले पनि शुल्क निर्धारण गर्नुपरेको जनाइएको छ ।

परीक्षणलाई निरन्तरता दिनुपर्ने भन्दै सरकारले तोकेको न्यूनतम शुल्क लिने प्रावधान बनाइएको डा. साहद्वारा जारी सूचनामा उल्लेख छ ।