दमक/ दक्षिणतिरको विशाल फाँट, उत्तरतर्फ चुरे डाँडा र सेताम्मे हिम शृङ्खला देखिने मोरङको लेटाङ नगरपालिका–६ भोगटेनीको ‘ग्वाबारी’ नयाँ पर्यटकीय गन्तव्य बनेको छ ।

पछिल्लो पटक धेरै आन्तरिक पर्यटकहरूको घुइँचो लाग्न थालेपछि ‘ग्वाबारी’ ले नयाँ पहिचान पाएको छ । यहाँबाट मोरङका धेरै तराई क्षेत्र र झापाको दमक बजारसमेत देख्न सकिन्छ । अहिले पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न निजी क्षेत्रको पहलमा विभिन्न कार्यक्रम अघि बढाइएको छ । यहाँ निजी लगानीमा भ्यूटावरदेखि पार्क, चिल्ड्रेन पार्कसमेत निर्माण गरिएको छ ।

स्थानीय खड्गबहादुर श्रेष्ठले आफ्नो १० रोपनी जग्गामा होटल, तीन तलाको भ्यूटावर, चिल्ड्रेन पार्क, गार्डेन निर्माण गरेका छन् । पर्यटक आउन थालेपछि यहाँ आधुनिक होटल, रेष्टुरेण्टसमेत धमाधम खुल्न थालेका छन् । यहाँ स्थित प्याराडाइस होटलका सञ्चालक दिवस लिम्बूले पर्यटकीय दृष्टिले यो क्षेत्रको भविष्य राम्रो देखेर लगानी गरेको बताए ।

हालैमात्र १६ लाखको लगानीमा होटल निर्माणको काम सम्पन्न गरेर सञ्चालन गर्न सुरु गर्ने बित्तिकै नेपालमा लकडाउन सुरु भएकाले होटल सोचेअनुसारको आम्दानी गर्न नसकिएको लिम्बूको भनाइ छ । अब लकडाउन खुकुलो भएसँगै होटलमा चहल–पहल बढ्न थालेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरीबाट झण्डै १८ किलोमिटर उत्तरमा रहेको यो क्षेत्रमा हाल ठूला–साना गरी १५ वटा होटल सञ्चालनमा रहेका छन् ।

राजमार्गबाट पक्की सडक नै पुगेको हुनाले आवत–जावतमा समेत सहज हुने भएपछि तराईको गर्मी छल्न सर्वसाधारण यहाँ पुग्ने गरेको पाइन्छ । फ्रेस हुन र शीतल हावामा बसेर रमाइलो दृश्य हेर्न झापाबाट यो स्थानमा आएका प्रकाश बुढाथोकी र शिव अधिकारी बताउँछन् । लामो समयको लकडाउनमा घरमा थुनिएर बस्नु पर्दा पट्यार लागेर यहाँ घुम्न आएको उनीहरूको भनाइ थियो ।

यहाँबाट मोरङको टाँडीस्थित पर्यटकीयस्थल जेफालेसम्म पुग्न सकिन्छ । यो स्थान तराई र पहाडका पर्यटक भित्र्याउने सुन्दर क्षेत्रको रूपमा रहेको छ । विकासका पूर्वाधार सडक, बत्ती र पानीको सुविधाले जोडिएको यो स्थान तराईको गर्मी छल्न चाँडो पुगिने नयाँ गन्तव्यस्थल भएको छ अहिले । सर्वसाधारणलाई तराईको गर्मी छल्न एक रात बिताउन चाँडै पुगिने स्थान भएकाले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।