विजयपुर । धरान बजारमा प्याजको मूल्य घटेको छ ।

अत्याधिक मुल्य बृद्धि भएपछि धरान उपमहानगरपालिकाको पहल र व्यापारीसँगको सहमतीमा मूल्य घटाएर थोकमा ७० र खुद्रामा ८५ रुपैयाँ बनाइएको छ । सोमबार विहानसम्म धरान बजारमा थोकमा प्रतिकिलो ९५ र खुद्रा १ सय ५ मा बिक्री भएको थियो ।

भदौ २९ गतेदेखि भारतले प्याज आयतमा रोक लगाएपछि व्यापारीहरुले आफुखुसी मूल्य बृद्धि गरेका थिए । बजारमा अत्याधिक मूल्यमा बिक्रि गर्न थालेपछि उपभोक्ताको हितलाई मध्येनजर गर्दै उपमहानगरपालिकाले घटाउन पहल गरेको हो । अहिले व्यापारी र नगरबीच बिच सम्झौता भई मूल्य घटेको छ ।

उपमहानगरकी उप–प्रमुख तथा बजार अनुगमन संयोजक मञ्जू भण्डारीको अध्यक्षता र नगर प्रमुखको तिलक राईको प्रमुख आतिथ्यमा मूल्य समायोजन सम्बन्धि बैठक बसेको हो । पहिले व्यापारीलाई ५५ रुपैयाँमा बिक्रि गर्दा व्यापारीले भारु २०मा आयात गर्ने गरेका थिए । अहिले भारु ३७ रुपैयाँमा आयात हुने गरेकोले ७० रुपैयाँमा विक्रि गर्न लगाइएको उपमहानगरका बजार अनुगमन अधिकृत वेदप्रकाश सापकोटाले जानकारी दिए ।

सापकोटाले उपभोक्ताहरुलाई सचेत हुन पनि आग्रह गरेका छन । उनले नगरले जारी गरेको मूल्यसूची हेरेर खरिद गर्न जाने र तोकेको मूल्यमा नदिएमा नगरमा जानकारी गर्न पनि आह्वान गरेका छन ।