बीबीसी नेपाली/ भारतकाे उत्तर प्रदेशको बदायूँमा श्रीमानले धारिलाे हतियारले गर्भवती श्रीमतीकाे पेट चिरिदिएपछि मृत बच्चा जन्माएकाे प्रहरीले जनाएकाे छ ।

माइती पक्षले शिशुको लिङ्ग पहिचान गर्न उनलाई आक्रमण गरिएको आरोप लगाएको छ।

ती दम्पतीका पाँच जना छोरी रहेका र श्रीमानले छोरा जन्माउन पत्नीलाई दबाव दिने गरेको उनीहरूले बताएका छन् ।

पक्राउ परेका श्रीमानले भने उक्त घटनालाई दुर्घटनाको सङ्ज्ञा दिँदै आफूले जानीजानी त्यस्तो कार्य नगरेको बताएका छन् ।

के छ महिलाको अवस्था ?
प्रहरीले बीबीसीलाई बताएअनुसार पेट चिरिएकी महिलालाई राजधानी दिल्लीस्थित अस्पतालमा राखिएको छ र उनको स्वास्थ्य अवस्था स्थिर छ ।

उनकी बहिनीका अनुसार छोरा पाउने विषयलाई लिएर उक्त दम्पतीबीच नियमित रूपमा झगडा हुने गर्थ्यो ।

उनका भाइका अनुसार स्वास्थ्य अवस्था निकै गम्भीर भएपछि चिकित्सकहरूको सल्लाहमा उनलाई दिल्ली पुर्‍याइएको थियो ।

स्थानीय सञ्चारमाध्यमलाई श्रीमानले धारिलो हतियार प्रहार गरेको तर त्यसले उनलाई गम्भीर चोट लाग्न सक्छ भन्ने कुरा भने नचिताएको बताएका छन् ।

'मेरा पाँच छोरी छन् । एउटा छोराको मृत्यु भएको छ। बालबालिका ईश्वरका देन हुन भन्ने मलाई थाहा छ। अब जे हुनु थियो त्यही हुन्छ,' उनले भने ।

प्रहरी अनुसन्धान जारी छ।