विजयपुर/ विद्युत् प्राधिकरण धरान शाखाका कर्मचारीले ‘लकडाउन’ भन्दै सेवाग्राहीको घरमा पुगेर बिल नकाटे पनि सेवाग्राहीसँग भने विलम्ब शुल्क लिने गरेको पाइएको छ ।

सेवाग्राही हरि गिरीका अनुसार विद्युत्का कर्मचारीहरू लकडाउन भन्दै भदौ २२ गते मात्रै आएर बिल काटेको र बिल बुझाउन जाँदा विलम्ब शुल्क लिएको छ । जबकि धरान शाखाले लकडाउनको अवधि अर्थात् भदौ १४ गते सूचना जारी गर्दै एक साताभित्र बिल नबुझाए विलम्ब शुल्क लाग्ने उल्लेख गरेको थियो ।

विद्युत् प्राधिकरणले उक्त सूचना पनि सामान्य कागजमा जारी गरेको थियो । विद्युत् प्राधिकरणका कर्मचारीले लकडाउनको कारणले मिटर रिडिङ गर्न नसकेको बताइरहँदा सेवाग्राहीसँग चाहिँ विलम्ब शुल्क लिनु गैरकानूनी भएको सेवाग्राही गिरीले दाबी गरे ।

‘हामीलाई चाहिँ लकडाउन नलाग्ने, उनीहरूलाई चाहिँ लकडाउन लाग्ने, यस्तो पनि हुन्छ ? हामीलाई चाहिँ के आधारमा विलम्ब शुल्क लिएको हो ?’–उनले फोनसम्पर्कमा भने । धरान शाखा प्रमुख प्रताप बरालले भने समयमै बिल पुर्याएको दाबी गर्दै आएका छन् ।