भद्रपुर । वैदेशिक रोजगारबाट घर फर्किएका एक व्यक्तिको घरमा नगरपालिकाले रातो झण्डा गाडेको छ ।
घरमा झन्डा गाडिएपछि परिवारमा मानसिक तनाव भएको छ । झापा विर्तामोड ८ गरामनीका नारायण भण्डारीको परिवार मानसिक तनावमा परेको हो ।
घरमा श्रीमती विरामी भएपछि भण्डारी कतारबाट असोज १ गते वेलुका अन्र्तराष्ट्रिय विमानस्थल काठमाडौ हुदै असोज २ गते विहान घर आएका थिए । आएको ३ दिनपछि आइतबार घरमा रातो झण्डा गाडिएको भण्डारी बताउँछन् । विदेशबाट पीसीआर रिपोर्ट नेगेटिभ आएपछि काठमाडौ आएको उनले बताए । नेगेटिभ आएपछि घरमा नै बस्नु भने अनुसार बसिरहेको समयमा किन घर आउँनु भयो ?, जानकारी किन गराउनु भएन ? भन्दै वार्ड प्रतिनिधि लगायत स्वास्थ्यकर्मीले तनाव दिएको उनले बताए । घरमा झण्डा गाडेपछि समाजबाट अपहेलित हुनु परेको उनी बताउँछन् ।
जोखिम बढ्न सक्ने भएकाले नगरपालिकाको निर्णय अनुसार यस्तो गरिएको कोभिड रोकथाम तथा नियन्त्रण समिति विर्तामोडका संयोजक ओम खड्काले बताए । समितिलाइ निगरानी गर्न सहज हुने भएकाले र अन्यलाइ पनि सजग हुन साङ्केतिक चिन्ह राखिएको उनको भनाइ छ । झण्डाले समस्या भएमा सरकारले तोकेको क्वारेटिनमा जान उनले सुझाव दिए । पीसीआर रिर्पोट २४ घण्टामात्र मान्य हुने भएकाले होम तथा क्वारेटिन अनिवार्य रहेको उनको भनाइ छ । विदेशबाट आएको व्यक्तिले सामान्य सुरक्षा मापदण्ड नपुर्याएका कारण समाजमा भयावह हुन सक्ने भएकोले सजग रहनका लागि साङ्केतिक चिन्ह राखिएको वडा नम्बर ८ की कार्यवाहक अध्यक्ष इन्दीरा पाण्डेले बताइन् । परिवारसँग घुलमिल भएका कारण उहाँमाथि निगरानी राखिएको उनको भनाइ छ ।
घट्नाको विषयमा जानकारी लिने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । प्रमाणित पीसीआर रिर्पोट भएपनि पुनः घर आएपछि गर्नुपर्ने उनको भनाइ छ ।