विराटनगर । प्याजमा कालोबजारी गरेको आरोपमा विराटनगरका दुई व्यापारी पक्राउ परेका छन् ।

प्याज किनेको भन्दा दोब्बर मूल्यमा विक्री गरेको आरोपमा मोरङ प्रहरीले विराटनगर – ९ पुरानो गुद्रीका ३८ वर्षिय संजयकुमार गुप्ता र सोही ठाउँका २९ वर्षिय मुकेशकुमार सहनीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैलाई मोरङ प्रहरीले आइतबार कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन अन्र्तगत जिल्ला प्रशासन कार्यालय मोरङमा सात दिनको म्याद थप गरि अनुसन्धान सुरू गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले बताए । ‘पक्राउ परेका व्यापारीले ४१ रुपैयाँमा खरिद गरेको प्याज ९५ देखि एक सय रुपैयाँ प्रति केजी विक्री गरेको भेटिएपछि पक्राउ गरिएको हो,’ एसपी खड्काले भने, ‘भारतबाट अहिले प्याजको आयात रोक लगाएपछि स्टोकमा राखिएको प्याज खरिद मूल्य भन्दा बढीमा विक्री गरेको भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेका छौं ।’

पक्राउ परेका व्यापारीले कति परिमाणमा कालोबजारी गरि प्याज विक्री गरेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको एसपी खड्काले बताए । पक्राउ परेका गुप्ताले विजयकुमारले योगेश पसल र मुकेशले तनिसा ट्रेडर्स पसलबाट प्याजको कालोबजारी गर्ने गरेको प्रहरीले जनाएको छ ।

मुकेशले लकडाउनको समयमा पनि खरिद गरेको भन्दा अधिक मूल्य राखि अन्य दैनिक उपभोग्य तरकारीहरू पनि विक्री गर्ने गरेको उपभोक्ताहरू बताउँछन् । पुरोना स्टोक राखिएको प्याज दोब्बर मूल्यमा उपभोक्तालाई विक्री गरेको जानकारी प्रहरीले पाएपछि स्ट्रिङ अप्रेशसन गरेको थियो । प्रहरीको स्ट्रिङ अप्रेसनमा कालोबारी गर्ने व्यापारी फन्दामा परेका छन् ।