धरान । तेह्रथुममा दुई जनाको हत्या गरी भागेका एक व्यक्ति १६ वर्षपछि पक्राउ परेका छन् ।

तेह्रथुमको जिरिखिम्तीमा २०६१ फागुन २२ गते पाँचथरको साविक रानीगाउँ गाविस–८का नरेन्द्र पाण्डे र सोहि ठाउँमा तेजबहादुर नेपालीको हत्या गरी भागेका साविक जिरिखिम्ति गाविस– ८ का २१ वर्षीय फुलकुमार शेर्पा १६ वर्षपछि पक्राउ परेका हुन् ।
खेमबहादुर पाण्डेको जाहेरीपछि शेर्पा सहित ५ जनालाई प्रतिवादी करार गरी प्रहरीले कर्तव्य ज्यान मुद्धाको अनुसन्धान गरेर अदालतमा पेश गरेका थियो ।

तेह्रथुम जिल्ला अदालतले २०६६ मंसीर १६ गते प्रतिवादी मध्येका फुल कुमार शेर्पालाई कर्तव्य ज्यान मुद्दामा जन्मकैद र चोरी मुद्दामा ६ बर्ष कैद सजाय तोकेको थियो । तर उनी फरार रहेकाले पक्राउ परेका थिएनन् ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमले फरार प्रतिवादी पक्राउ गर्न टोलि गठन गरेर सूचना संकलन र खोजतलाश गर्ने क्रममा ईलामस्थित आईतवारे क्षेत्रमा लुकीछिपी बसेको गोप्य सूचनाका आधारमा असई कुमार राईको टोलीले शेर्पालाई यहि असोज १ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका इन्स्पेक्टर तेजबहादुर दाहालले बताए ।

शेर्पालाई ईलामको सुर्योदय नगरपालिका–१२बाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ईलामबाट अड्डासार गर्दै असोज ३ गते तेह्रथुम ल्याएर स्वास्थ्य परिक्षण गरि प्रहरी हिरासतमा राखिएको र आइतबार आवश्यक कागजात सहित तेह्रथुम जिल्ला अदालतमा पेश गरेको इन्स्पेक्टर दाहालले जानकारी दिए ।