झापा । चिया क्षेत्रका तीनवटा ट्रेड युनियन संघ तथा नेपाल चिया उत्पादक संघका प्रतिनिधिहरु विच भएको छलफलले चिया क्षेत्रमा लामो समयदेखि रहेको समस्या समाधान गरेको छ ।
 

चिया क्षेत्र सम्बद्ध तीनवटा ट्रेड युनियन संघ तथा उत्पादक संघ बीच भएको चारबुँदे सहमतिले समस्या हल गर्ने भएको हो । संवाद समूहको संयोजनमा उत्पादक संघ र तीन वटै ट्रेड युनियन बीच भएको सहमति शुक्रबार बिर्तामोडमा संयुक्त रुपमा सार्वजनिक गरिएको थियो ।

चिया बगानमा काम गर्ने कामदार तथा कर्मचारीहरुको दैनिक आधारभुत पारिश्रमिक २ सय ३१ रुपैयाँ थियो भने २०७७ साउन १ गतेदेखि ३० रुपैयाँ र २०७८ साउन १ गतेदेखि थप २० रुपैयाँ बृद्धि हुने सहमति भएको जानकारी गराइएको थियो ।

त्यसैगरी चिया प्रशोधन वा कारखानामा काम गर्ने श्रमिक तथा बगानमा कामगर्ने नाईके, वहिदार र चौकीदारको ज्यालाका अतिरिक्त दैनिक भत्ता ४२ रुपैयाँमा १३ रुपैयाँ वृद्धि गरी दैनिक ५५ रुपैयाँ कायम गरिने सहमति भएकोे छ ।

२०७५ साउन १ गतेदेखी लागू हुनेगरी वृद्धि भएको दैनिक एकसय ७ रुपैयाँ २०७५ साउन १ गतेदेखी २०७५ चैत १५ गतेसम्मको फरक रकम सो अवधिमा कार्यरत श्रमिकहरुलाई भुक्तानी गर्ने बिषयलाई निरन्तरता दिइने भएको छ ।

श्रमऐन २०७४ र श्रमनियमावली २०७५ मा भएको व्यवस्थाहरु सवै चियाबगानमा कार्यान्वयन गर्दै जाने सहमती भएको छ ।

त्यस्तै विश्व महामारीका रुपमा रहेको कोरोना भाइरसबाट बच्न सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा गर्दै सुरक्षाको व्यवस्था प्रतिष्ठानको तर्फबाट गर्ने, श्रमिकले पनि आफ्नो सजगता अपनाउने सहमति भएको छ । चिया सम्बन्धि समस्याका बिषयमा निरन्तर छलफल गर्दै जाने समेत सहमति भएको जानकारी दिइएको छ ।

पटक–पटकको वार्ता र छलफलपछि दुवै पक्षबीच सहमति भएको हो । यो सहमति अनुसारको ज्याला राजपत्रमा प्रकाशित गरिने भएको छ । कानुनको रुपमा उक्त विषय समेटिएपछि देशभरका चिया क्षेत्रमा लागू हुने जानकारी गराइएको छ ।

सहमति सार्वजनिक समारोहमा उत्पादक संघको तर्फबाट अध्यक्ष सुरेशकुमार अग्रवाल र चण्डी पराजुली तथा ट्रेड युनियनको तर्फबाट भूपाल सापकोटा, दीपक तामाङले धारणा राखेका थिए ।

कार्यक्रमको सहजीकरण पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले गरेका थिए । सहमतिमा उत्पादक संघका प्रतिनिधि तथा ट्रेड युनियनका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।