धरान । विद्युतीय प्रणालीबाट धरान उपमहानगरपालिकाले कर तथा राजस्व भुक्तानी सुरु गरेको छ ।

स्वेदश तथा विदेश जहाँसुकै भएका धरानले आफूले तिर्नुपर्ने कर तथा राजस्व अब अनलाइनमाध्यमबाट नै भुक्तानी गर्न सक्ने प्रणालीको विकास गरिएको हो । कुनै पनि बैङ्कको खाताबाट ‘कनेक्ट आइपिएस’ मार्फत सजिलै कर तथा राजस्व भुक्तानी गर्न सकिने धरान नगरपालिकाका प्रमुख तिलक राईले बिहीबारको पत्रकार सम्मेलनमा बताए ।

देशभरिका स्थानीय तहमध्ये धरान विद्युतीय माध्यमबाट कर तथा राजस्व सङ्कलन गर्ने पहिलो स्थानीय भएको दाबी गरेको छ । राजस्व प्रणालीलाई प्रविधिमैत्री बनाइएको नगर प्रमुख राईको दाबी छ । नगरले कम्प्युटर सफ्टवेयरको माध्यमबाट कर तथा राजस्वको अभिलेखन, कर निर्धारण, तथा असुली सम्बन्धी कार्य स्वचालित रूपमा गर्न सक्ने जनाएको छ ।

यसलाई नगरले विद्युतीय सुशासनको एउटा अङ्ग मानेको छ । करदाताले आफूले तिर्न वा बुझाउन चाहेको सम्पत्ति कर, मालपोत (भूमिकर), व्यवसाय कर, बहाल करलगायत तिर्न सक्नेछन् ।

कोरोना महामारीका कारण भौतिक उपस्थितिमा कर तिर्न समस्या भएकाले विद्युतीय प्रणालीमार्फत प्रक्रिया सुरु गरिएको सूचना शाखाका प्रमुख तथा कर अधिकृत खगेन्द्र खतिवडाले बताए । नगरले यसलाई जनमुखी, सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनेको बताएको छ ।

सेवा लिनका लागि कर प्रणालीमा ‘पब्लिक र कोर पोर्टल’ गरी दुई प्लेटफर्म रहेका छन् । तीमध्ये पब्लिक पोर्टल प्रयोग गरेर सेवाग्राहीले सेवा लिन सक्ने जनाइएको छ ।