धरान । होटल तथा रेष्टुराँ व्यवसायीले पनि भोलिबाट राहत पाउने भएका छन् ।

कोरोना महामारीका कारण सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन यता होटल तथा रेष्टुराँ खुल्न सकेको थिएन । करिब ६ महिनादेखि बन्द रहेको होटल तथा रेष्टुराँ व्यवसाय भोलिबाट मापदण्ड पूरा गरेर खोल्न सरकारले अनुमति दिएको छ ।

सरकारले असोज १ गतेदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको मापदण्ड पूरा गरेर होटल, रेष्टुराँ, ट्रेकिङ तथा ट्राभल व्यवसाय सञ्चालनको अनुमति दिएको हो । नेपालमा पछिल्लो समय होटल तथा रेष्टुराँ व्यवसायमा लगानी बढ्दो छ ।

सोमबार मन्त्रिपरिषद्ले गरेको निर्णय सुनाउँदै परराष्ट्र मन्त्री एवम् सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले यस्तो कुरा सार्वजनिक गरेका हुन् । यसको अनुगमन भने संस्कृति पर्यटन र नागरिक उड्ययन मन्त्रालयले गर्ने भएको छ ।

लामो समयदेखि होटल व्यवसाय सञ्चालन हुन नसक्दा लगानी डुब्ने सम्भावना बढेको थियो । होटल व्यवसायीहरूले आन्दोलन गर्ने अवस्था सिर्जना भएको बताएका थिए । पूर्वको पर्यटकीय केन्द्र भेडेटारका होटल व्यवसायीहरूले मङ्गलबार मात्रै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतमा ज्ञापन पत्र बुझाउँदै आन्दोलनका विकल्प नभएको बताएका थिए ।