विजयपुर/ धरान नगरभित्रका केही संस्थागत तथा निजी विद्यालय सञ्चालकहरूले शिक्षक तथा कर्मचारीलाई गत शैक्षिक सत्रको तलबसमेत नदिएको पाइएको छ ।

धरान नगरभित्र ९६ वटा निजी तथा संस्थागत विद्यालय रहेका छन् । तीमध्ये २ वटा विद्यालयले गत शैक्षिक सत्र अन्तर्गत चैत महिनाको तलब नदिएको इस्टु सुनसरीका सचिव शम्भु रेग्मीले बताए । उनका अनुसार सुम्निमा बोर्डिङ स्कुल र हिविस्कस बोर्डिङ स्कुलले तलब नदिएका हुन् । यता हिविस्कस स्कुलका सञ्चालक विवेकसिंह थेवेले अभिभावकबाट शुल्क नउठेकाले पनि तलब दिन ढिलाइ भएको बताए । अर्का सुम्निमा स्कुलका सञ्चालक युवा राईले थोरैलाई मात्र दिन बाँकी रहेको स्वीकार गरे । उनले आंशिक रूपमा दिँदै आएको बताए ।

शिक्षक तथा कर्मचारीको साझा सङ्गठन प्याब्सु र इस्टुले यसअघि नै महानगरपालिकामा विद्यालय सञ्चालकले शिक्षक तथा कर्मचारीलाई अन्याय गरेकाले न्याय दिलाउन माग गर्दै ज्ञापन–पत्र बुझाएका थिए । इस्टु सचिव रेग्मीका अनुसार ज्ञापन–पत्र बुझाए पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको बताए । उनी भन्छन्, ‘अहिले केही विद्यालयहरूले आंशिक रूपमा दिँदै आएका छन् । हाम्रो माग पनि सबै नभए पनि आंशिक रूपमा दिनुपर्ने भन्ने हो ।’

महानगरपालिका शिक्षा महाशाखा प्रमुख रत्नबहादुर कट्वालले एक हप्ताभित्र दुवै पक्षलाई राखेर समस्या समाधानका लागि पहल गर्ने बताए । प्याब्सन र एनप्याब्सनका क्षेत्रीय संयोजक राजेन्द्र गुरुङले विद्यालय सञ्चालकहरूले आंशिक भए पनि तलब दिनुपर्ने बताउँछन् । उनी आफूले त्यसको लागि निरन्तर पहल गरेको बताउँछन् । चैत यताको नयाँ शैक्षिक सत्रमा अधिकांश विद्यालयहरूले तलब दिएका छैनन् ।

नयाँ शैक्षिक सत्रमा ६ वटाले मात्रै शिक्षक तथा कर्मचारीलाई तलब दिएका छन् भने अन्यले दिएका छैनन् । तलब दिनेमा विष्णु मेमोरियल, केके इण्टरनेशनल, युरेका आवासीय मावि, होलिल्याण्ड इण्टरनेशनल, जुनियर पायोनियर र इस्टर्न एकेडेमी रहेको इष्टुले जनाएको छ ।