भद्रपुर/ संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिको बैठकले शिक्षक, कर्मचारीको माग सम्बोधन नभएसम्म नगर क्षेत्रमा विद्यालय सञ्चालन हुन नदिने निर्णय गरेको छ ।

नगर समितिका अध्यक्ष द्रोण अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले पटक–पटक दिएको ध्यानाकर्षण पत्र, ज्ञापन पत्र, माग पत्र र अल्टिमेटमलाई विद्यालय सञ्चालकहरूले बेवास्ता गरेको ठहर गर्दै माग सम्बोधन नभएसम्म विद्यालय सञ्चालनको वातावरण तयार हुन नदिने निर्णय गरेको हो ।

बैठकले विद्यालय सञ्चालकहरू प्याब्सन, एनप्याब्सनको नाममा राज्यको प्रचलित नीति, नियम विपरीत चलेको ठहर गर्दै कानूनी उपचारका लागि श्रम अदालत जाने निर्णय गरेको छ । सो निर्णयअनुसार शिक्षक, कर्मचारीका प्रचलित कानून अनुसारका मागको बेवास्ता गरेर जबरजस्ती विद्यालय सञ्चालन गर्ने प्रयास गरे प्रतिकारमा उत्रने, असोज ४ गते शिक्षक, कर्मचारीको नगर भेला आयोजना गरी नगर शिक्षा घेराउ गर्ने, गएको शैक्षिक सत्रकै तलब नदिने विद्यालय तथा सञ्चालकको भण्डाफोर गर्ने, सञ्चालनमा आएका विद्यालयमा तालाबन्दी गर्नेलगायत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।

वैशाख तेस्रो साताबाट आन्दोलित भएको इस्टुका माग सम्बोधन गर्न विद्यालय सञ्चालक अनिच्छुक देखिएपछि पटक–पटक नगर शिक्षा समितिसित माग पूरा गराउन शिक्षक युनियनले माग पत्र र ध्यानाकर्षण गराउँदै आएको भए पनि अभिभावकत्व ग्रहण गर्न नगर सरकार असफल भएपछि संस्थागत विद्यालयका शिक्षक, कर्मचारी नगर सरकारसित समेत असन्तुष्ट भएको छ ।